काठमाडौँ ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म शिवम् सिमेन्ट लिमिटेडले ४० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ९६.०८ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले कमाएको २० करोड ४२ लाख रुपैयाँ  नाफा कमाएको थियो । कम्पनीको सञ्चालन र अन्य आम्दानीमा गिरावट आए पनि बिक्री लागत र खर्चहरू घटाएका कारण नाफामा सुधार आएको हो।

यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी १०.०१ प्रतिशतले घटेर ५ अर्ब ३९ करोड रुपैयाँमा आएको छ। यस्तै, अन्य आम्दानी पनि २७.१० प्रतिशत घटेर १२ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ ।

अर्कोतर्फ, बिक्री लागत १६.०६ प्रतिशतले घटाएको छ भने बिक्री तथा वितरण खर्च ९.०४ प्रतिशतले घटाएको छ । साथै, शिवम् सिमेन्ट्सको चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

नाफा बढेसँगै यसको प्रतिसेयर आम्दानी ४.३७ रुपैयाँले बढेर ९.७९ रुपैयाँ पुगेको छ । साथै, यसको सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ ।  प्रतिसेयर नेटवर्थ भने १८१.१० रुपैयाँ रहेको छ ।