काठमाडौँ। विश्वप्रसिद्ध धावक बोल्टलाई मानव इतिहासकै सबैभन्दा तीव्र गतिका व्यक्ति मानिन्छ। अहिले सोही नामबाट प्रेरणा लिएर चीनमा अत्यन्त द्रुत गतिमा दौडन सक्ने मानवरूपी यान्त्रिक मानव (रोबोट) तयार गरिएको छ।

चीनको प्रविधि कम्पनीमिरर मी टेक्नोलोजीले ‘बोल्ट’ नाम दिएको उक्त यान्त्रिक मानव निर्माण गरेको जनाएको छ। कम्पनीका अनुसार यो हालसम्मकै सबैभन्दा छिटो दौडने क्षमतायुक्त रोबोट हो।

ह्युमनोइड रोबोट भन्नाले दुई खुट्टामा मानिसजस्तै हिँड्न र दौडन सक्ने प्रविधिलाई जनाइन्छ। कम्पनीको दाबीअनुसार ‘बोल्ट’ ले अधिकतम गतिमा एक सेकेन्डमै १० मिटर दूरी पार गर्न सक्छ। यसको तौल करिब ७५ किलोग्राम र उचाइ ५ फिट ७ इन्च रहेको बताइएको छ।

सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरिएको दृश्य सामग्रीमा प्रयोगशालाभित्र विशेष चलायमान सतहमा मानिस र यन्त्रबीच प्रतिस्पर्धा देखाइएको छ। गति बढ्दै जाँदा मानिस सन्तुलन गुमाएर लडेको देखिन्छ भने यन्त्रले तीव्र गतिमा दौड जारी राख्दै एक सेकेन्डमै १० मिटर दूरी पार गरेको देखाइएको छ। सो दृश्यमा यन्त्रसँगै ट्रेडमिलमा दौडने व्यक्ति कम्पनीकै प्रमुख रहेको उल्लेख गरिएको छ।

कम्पनीका अनुसार ‘बोल्ट’ को दौडने तरिका मानिससँग मिल्दोजुल्दो छ। सन्तुलन कायम राख्न दौडँदा यसले हात र टाउको चलाउँछ, जसले यसलाई अन्य यन्त्रभन्दा फरक बनाएको बताइएको छ। रिपोर्टअनुसार मिरर मी कम्पनीको लक्ष्य चाहीँ सामान्य रोबोटभन्दा अगाडि बढेर खेलकुदको क्षेत्रमा मानिस सरह वा मानिसभन्दा राम्रो प्रदर्शन गर्न सक्ने ‘सुपर रोबोट’ विकास गर्नु हो ।

मिररमी कम्पनीको यसअघिको अर्को रोबोट ब्ल्याक प्यान्थर द्वितीयले यसअघि १०० मिटर दौड १३.१७ सेकेन्डमा पूरा गरेर कीर्तिमान बनाएको थियो । यस्तो उच्च गति चर्चित रोबोट निर्माता बोस्टन डायनामिक्स का रोबोटहरूले पनि हासिल गर्न सकेका छैनन् ।

विज्ञहरूका अनुसार ‘बोल्ट’ जस्ता यन्त्रहरू भविष्यमा धावकहरूको प्रशिक्षणमा सहयोगी हुन सक्ने सम्भावना छ। तर हालसम्म यो प्रविधि प्रयोगशालामै परीक्षण गरिएकोले वास्तविक वातावरणमा यसको प्रदर्शन कस्तो रहनेछ भन्नेबारे थप अध्ययन आवश्यक रहेको बताइएको छ।