काठमाडौँ । ललितपुरका तीन निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिएका छन् भने एक क्षेत्रमा नेपाली कांग्रेसले सुरुवाती अग्रता कायम गरेको छ। प्रारम्भिक मतगणनाको नतिजाअनुसार काठमाडौं उपत्यकाभित्र पर्ने ललितपुरका तीनवटै क्षेत्रमा मतगणना जारी रहेको छ।

हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार ललितपुर जिल्ला–१ मा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणा २ हजार ६७४ मतसहित अग्रस्थानमा रहेका छन्। उनका निकटतम प्रतिस्पर्धी रास्वपाका बुद्धरत्न महर्जन ले १ हजार ३८२ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमाले का उम्मेदवार चेतनाथ सञ्जेल ले १ हजार ३२४ मत ल्याएका छन्। यस क्षेत्रमा तीन प्रमुख दलबीच प्रतिस्पर्धा कडा देखिएको छ र मतान्तर क्रमशः घटबढ हुन सक्ने अवस्था रहेको छ।

त्यसैगरी, ललितपुर जिल्ला-२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल अग्रस्थानमा देखिएका छन्। उनले हालसम्म २२८ मत प्राप्त गरेका छन्। एमालेका प्रेम महर्जन ले १३१ मत प्राप्त गरेका छन् भने उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकार ले १०८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जन ले ८१ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्र का राजेन्द्र अमात्य ले ४५ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा मतगणना प्रारम्भिक चरणमै रहेकाले परिणाममा परिवर्तन आउने सम्भावना कायमै रहेको छ।

यस्तै, ललितपुर जिल्ला–३ मा रास्वपाकी उम्मेदवार डा. तोसिमा कार्की स्पष्ट अग्रतामा देखिएकी छन्। उनले २ हजार ४७७ मत प्राप्त गरेकी छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठ ले ५९० मत प्राप्त गरेका छन् भने एमालेका सन्दन थापा मगर ले १२३ मत ल्याएका छन्। यस क्षेत्रमा रास्वपाले सुरुवातदेखि नै उल्लेख्य अग्रता बनाएको देखिएको छ।

मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। निर्वाचन अधिकृतका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भइसकेपछि गणना प्रक्रिया तीव्र पारिएको छ। काठमाडौं उपत्यका का अन्य निर्वाचन क्षेत्रमा पनि मतगणना भइरहेको र विभिन्न दलका उम्मेदवारबीच प्रतिस्पर्धा चर्किंदै गएको छ।