काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नम्बर ५५)लाई निलम्बन गरेको छ। बोर्डको सोमबारको बैठकले अर्को सूचना नआउँदासम्म कम्पनीलाई सेयर कारोबार गर्न रोक लगाउने निर्णय गरेको एक सदस्यले जानकारी दिए।
कम्पनीमाथि हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर बिक्री रकम नतिरी उक्त रकमबाट विवादास्पद व्यवसायी दीपक भट्टलाई सेयर खरिद गराएको, नियामक निर्देशनको उल्लङ्घन गरेको र कानुनविपरीत कारोबार गरेको आरोप छ।
सम्पत्ति शुद्धीकरण विभागको जाँचमा तेस्रो पक्षका खाताबाट भुक्तानी गरी उधारोमा सेयर कारोबार गरिएको पाइएको छ। यसले आवश्यक मार्जिन नलिनु र वित्तीय जोखिम बढाउनुका साथै नियमको प्रत्यक्ष उल्लङ्घन भएको निष्कर्ष निकालिएको छ।
निलम्बनसँगै, कम्पनीले अर्को आदेश नआउँदासम्म कुनै पनि सेयर कारोबार गर्न पाउने छैन।







