काठमाडौँ। मोरङमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले बाँकेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र काभ्रेपलाञ्चोकको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जरमा जाने तयारी अघि बढाएको छ।
सम्झौता अनुसार मर्जरपछि संस्थाले ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’कै नामबाट सेवा सञ्चालन गर्नेछ भने मुख्य कार्यालय मोरङको कटहरीमै रहनेछ। हालका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले नै एकीकृत संस्थाको नेतृत्व सम्हाल्ने बताइएको छ।
जीवन विकासको १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी चुक्तापुँजीमा युनिक नेपाल र मानुषीको पुँजी थपिँदा समग्र वित्तीय क्षमता अझ सुदृढ हुने अपेक्षा गरिएको छ। यसले कर्जा प्रवाह विस्तार, जोखिम नियन्त्रण र सेवा विविधीकरणमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ।
अहिलेसम्म यी तीन संस्थामार्फत करिब ५ लाख सेवाग्राही लाभान्वित भइरहेका छन्। मर्जर सम्पन्न भएपछि शाखा विस्तार, सेवा पहुँच वृद्धि र डिजिटल सेवाको विकासमा उल्लेखनीय सुधार हुने विश्वास लिइएको छ।
मर्जर प्रक्रिया अघि बढाउन ६ सदस्यीय संयुक्त समिति गठन गरिएको छ। समितिले नियामकीय स्वीकृति प्राप्त गर्ने, सम्पत्ति तथा दायित्व मूल्यांकन गर्ने लगायतका कामलाई तीव्रता दिने जनाएको छ। योजना अनुसार २०८३ असार मसान्तसम्म मर्जर सम्पन्न गरी एकीकृत कारोबार सुरु गर्ने लक्ष्य राखिएको छ।







