काठमाडौं। नेपालको पूँजी बजारमा देखिएको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेपाल सेयरबजार लगानीकर्ता संघले सरकारसँग तत्काल सुधारात्मक कदम चाल्न आग्रह गरेको छ।

संघले बालेन साहलाई सम्बोधन गर्दै पठाएको पत्रमा नियामक निकाय नेपाल धितोपत्र बोर्डभित्र नीतिगत अन्योल, व्यवस्थापकीय कमजोरी र बिचौलियाको प्रभावका कारण लगानीकर्तामा निराशा बढ्दै गएको उल्लेख गरेको छ। यसबाट करिब ७७ लाखभन्दा बढी हितग्राही खाताधारक प्रभावित भएको संघको भनाइ छ।

संघका अनुसार पूँजी बजारमा ठूलो संख्यामा सर्वसाधारणको लगानी रहेको हुँदा यसको संरक्षण र सुदृढीकरण सरकारको प्रमुख दायित्व हो। तर हाल देखिएको समस्याले बजारप्रति विश्वास कमजोर बन्दै गएको औंल्याइएको छ।

पत्रमा वर्तमान सेबोन नेतृत्व तथा संरचनागत कमजोरीलाई समस्या उत्पन्न हुनुको मुख्य कारण बताइएको छ। साथै अर्थ मन्त्रालयको सक्रियता अपेक्षाअनुसार नदेखिँदा अवस्था थप जटिल बनेको आरोप पनि लगाइएको छ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ ले लगानीकर्ताको हित संरक्षण गर्ने व्यवस्था गरे पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको संघको निष्कर्ष छ।

यसका समाधानका लागि संघले सेबोनका सञ्चालकहरूको पुनरावलोकन, सक्षम नेतृत्व नियुक्ति, संस्थागत सुधार तथा नीतिगत स्थिरता कायम गर्न सरकारसँग माग गरेको छ।

संघले लगानीकर्ताको भरोसा पुनः स्थापित गर्दै पूँजी बजारलाई सुदृढ बनाउन सरकारबाट शीघ्र सकारात्मक कदम चालिने अपेक्षा व्यक्त गरेको छ।