काठमाडौं । रामबहादुर बमजनले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई अभियोग दाबी नपुग्ने भन्दै उन्मुक्ति दिने फैसला गरेको हो।

अदालतका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले ८ करोड ५९ लाख रुपैयाँ बिगो दाबी गरिएको मुद्दामा प्रमाण नपुगेको निष्कर्ष निकाल्दै बमजनलाई निर्दोष ठहर गरेको बताइएको छ।

फैसला आएपछि उनी कारागार कार्यालय सर्लाहीबाट रिहा भइसकेको प्रहरी स्रोतले जनाएको छ। यसअघि उनी सोही मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।

बमजनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०८० पुस २४ गते पक्राउ गरेको थियो। उनीविरुद्ध बाल यौन दुरुपयोगसम्बन्धी अर्को मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।