काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) माइकल फोलेले नेपालले आफ्नो आर्थिक सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न डिजिटल पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। उनले हालको समयलाई “टर्निङ पोइन्ट” का रूपमा व्याख्या गरेका हुन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सीईओ फोलेले नेपाल हाल प्राविधिक रुपमा पछि परेको अवस्थामा रहेको उल्लेख गरे। उनले विशेषगरी दूरसञ्चार सञ्जाल, डेटा सेन्टर र आधुनिक डिजिटल प्रणालीहरूको विकासमा नेपालमा ठूलो कमी रहेको बताएका हुन्।

उनले भने, “डिजिटल कनेक्टिभिटी अब विकल्प होइन, आधारभूत आवश्यकता बनिसकेको छ।” उनले नेपालमा अझै पनि लाखौं प्रयोगकर्ता टु जी सेवामा निर्भर रहेको उल्लेख गर्दै विश्व बजार फाइभ जी हुँदै सिक्स जी प्रविधितर्फ अघि बढिरहेको उल्लेख गरे।

२५० मिलियन डलरसम्म लगानीको योजना

फोलेले एनसेलले नेटवर्क स्तरोन्नति र डिजिटल क्षमताको विस्तारका लागि नियामक स्वीकृतिपछि २०० देखि २५० मिलियन अमेरिकी डलरसम्म लगानी गर्न तयार रहेको जानकारी दिए।

उनले कम्पनीले फाइभ जी परीक्षण स्पेक्ट्रमका लागि धेरै पटक आवेदन दिइसकेको र फाइभ जी नेटवर्क सञ्चालनको तयारी समेत गरिरहेको जानकारी दिएका छन्।

फोलेले ठूलो स्तरका डेटा सेन्टर स्थापना, फाइबर टु द होम सेवा विस्तार, अन्तर्राष्ट्रिय लगानीकर्तासँग साझेदारीका योजनाहरु समेत सुनाए ।

नेपालप्रति अन्तर्राष्ट्रिय चासो बढ्दो

उनले हालैका राजनीतिक विकासक्रमले नेपालप्रति विश्वव्यापी चासो बढाएको उल्लेख गरेका छन् । हार्वर्ड र एमआईटीमा हालै भएको एक सम्मेलनको उदाहरण दिँदै उनले विदेशमा रहेका नेपाली युवामा नेपालप्रति पछिल्ला राजनीतिक घटनाक्रमले उत्साह देखिएको बताए।

उनी भन्छन्, “विश्वभरका मानिसहरू सोधिरहेका छन् कि नेपालमा के भइरहेको छ ?”

Ncell CEO Calls for Massive Digital Investment, Says Nepal Ready for Tech Leap

निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक

उनले व्यवसायहरू अब निष्क्रिय दर्शक भएर बस्न नहुने भन्दै देश रूपान्तरणमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए। नयाँ पुस्ताले उत्तरदायित्व, उद्देश्य र डिजिटल उत्कृष्टता माग गरिरहेको भन्दै व्यवसायहरूले पनि त्यसअनुसार आफूलाई रूपान्तरण गर्नुपर्ने सीईओ फोलेको धारणा छ।

डिजिटल पूर्वाधार र विदेशी लगानी

फोलेका अनुसार नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न बलियो डिजिटल पूर्वाधार अनिवार्य भइसकेको छ। उनले डिजिटल अर्थतन्त्र नेपालका लागि ऐतिहासिक अवसर भएको उल्लेख गर्दै यसले परम्परागत अवरोधहरू पार गर्न सक्ने बताए।

उनी भन्छन्, “विश्व लगानीकर्ताहरू अत्यन्त प्रतिस्पर्धात्मक रूपमा निर्णय गर्छन्, जसको आधार पूर्वाधारको तयारी हुन्छ। त्यसैले नेपालमा एफडीआई आकर्षित गर्न बलियो डिजिटल पूर्वाधार बनाउनु आवश्यक छ।”

सहकार्य र युवा सहभागिताका लागि आह्वान

उनले आर्थिक रूपान्तरण केवल सरकारको प्रयासले सम्भव नहुने भन्दै सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। साथै विदेशमा अध्ययनरत नेपाली युवालाई देश फर्केर योगदान दिन पनि उनले आग्रह गरे।

“आर्थिक रूपान्तरण कुनै एक नीतिको परिणाम हुन सक्दैन, यो निरन्तर सहकार्यको परिणाम हो । त्यसैले सबैले आफ्नोतर्फबाट भुमिका खेल्न आवश्यक छ।” उनले भने।