काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण क्षेत्र हाल गम्भीर संकटमा पुगेको जनाएको छ । महासङ्घका अनुसार कमजोर पुँजीगत खर्च, निर्माण सामग्रीको तीव्र मूल्यवृद्धि र नीतिगत स्पष्टताको अभावका कारण देशभरका अधिकांश विकास आयोजनाको काम प्रभावित भएको हो ।
महासङ्घले हाल करिब ३२ हजार निर्माण व्यवसायी आबद्ध यस क्षेत्र आर्थिक रूपमा दबाबमा रहेको बताएको छ । चालु आर्थिक वर्षमा विनियोजित पुँजीगत बजेटमध्ये करिब २७ प्रतिशत मात्र खर्च हुनुले पूर्वाधार विकासमा प्रत्यक्ष असर परेको उसको दाबी छ ।
महासङ्घका अध्यक्ष निकोलस पाण्डेले अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मध्यपूर्वको युद्धका कारण इन्धन तथा निर्माण सामग्रीको मूल्य उल्लेखनीय रूपमा बढेको बताए । उनका अनुसार डिजेल, बिटुमिन, सिमेन्ट र डण्डीजस्ता सामग्रीको मूल्यमा ठूलो वृद्धि भएपछि निर्माण लागत अत्यधिक बढेको छ र व्यवसायीहरू कठिन अवस्थाबाट गुज्रिरहेका छन् ।
मूल्य समायोजन नहुँदा राष्ट्रिय गौरवका परियोजनासहित धेरै आयोजना रोकिएको महासङ्घले जनाएको छ । साथै, बैंक ग्यारेण्टी, बिमा तथा क्षतिपूर्तिसहित आयोजनाको म्याद थप गर्न सरकारसँग माग गरिएको छ । महासङ्घले एक साताभित्र उचित निर्णय नभए निर्माण कार्य ठप्प पार्ने र आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ ।







