काठमाडौँ। नेपालको बैंकिङ प्रणाली पछिल्ला वर्षहरूमा डिजिटल हुँदै गइरहेको भएपनि केवाईसी अर्थात ग्राहक पहिचान प्रक्रिया भने अझै परम्परागत र झन्झटिलो अवस्थामै रहँदै आएको छ।
एउटै व्यक्तिले विभिन्न बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा प्रत्येक पटक छुट्टाछुट्टै केवाईसी फारम भर्नु पर्ने, परिचयपत्रको प्रतिलिपि बुझाउनुपर्ने र बारम्बार विवरण अद्यावधिक गर्नुपर्ने अवस्थाले सेवाग्राहीमा असुविधा बढाएको गुनासो बेला बेला सुनिन्छ ।
विशेषगरी धेरै बैंकमा कारोबार गर्ने ग्राहकहरूका लागि यो प्रक्रिया समय–सापेक्ष नभई दोहोरो काम जस्तो बनेको छ, जसले बैंकिङ सेवाप्रति आम जनताको अनुभवलाई समेत प्रभावित पारेको छ ।
ग्राहकका यस्तै समस्या तथा झन्झटको अन्त्य गर्न नेपाल राष्ट्र बैंकले सेन्ट्रलाइज्ड केवाईसीको आधुनिक अवधारणाको कार्यान्वयन सुरु गरेको छ।
के हो सेन्ट्रलाइज्ड केवाईसी ?
सेन्ट्रलाइज्ड केवाईसी भनेको ग्राहकको पहिचानसम्बन्धी सबै विवरणलाई एउटै केन्द्रीय डिजिटल प्रणालीमा संकलन गरी राख्ने व्यवस्था हो, जसबाट बैंक तथा वित्तीय संस्थाहरूले आवश्यक परेमा सोही प्रणालीबाट ग्राहकको प्रमाणित विवरण प्राप्त गर्न सक्छन् ।
यस प्रणालीमा कुनै एक बैंकमा गरिएको केवाईसी विवरण अन्य बैंक तथा वित्तीय संस्थाले पनि प्रयोग गर्न सक्ने भएकाले एउटै व्यक्तिले बारम्बार कागजात बुझाउने र फारम भर्ने झन्झट रहदैन।
यस अवधारणाअनुसार ग्राहकले पहिलो पटक कुनै बैंक वा वित्तीय संस्थामा केवाईसी गर्दा त्यसको विवरण केन्द्रीय प्रणालीमा सुरक्षित हुन्छ र पछि अन्य संस्थामा खाता खोल्दा पुनः कागजात पेश गर्नुपर्ने आवश्यकता रहँदैन।
नेपालमा कसरी कार्यान्वयन हुँदैछ सेन्ट्रलाइज्ड केवाईसी ?
नेपाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्थाका ग्राहकहरूको सूचना एकमुष्ट संकलन गरी वितरण गर्ने गरी केन्द्रीय ग्राहक पहिचान प्रणाली (सेन्ट्रलाइज्ड केवाईसी) को काम कर्जा सूचना केन्द्रमार्फत अघि बढाएको छ।
राष्ट्र बैंक र कर्जा सूचना केन्द्रबीच सम्झौता भई ग्राहकहरूको सूचना आदानप्रदानको काम शुरू हुन लागेको राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए ।
पहिलो चरणमा राष्ट्रिय परिचयपत्रमा भएका सूचनाहरूलाई बैंकको केवाईसीसँग जोड्ने काम अघि बढिरहेको छ । विस्तारै यसमा सरकारसँग भएका व्यक्तिगत विद्युतीय अभिलेखहरू मालपोत, कर, कम्पनी रजिस्ट्रार, धितोपत्र बोर्डलगायत निकायमा भएका सूचनालाई समेत जोड्ने तयारी सरकारको छ।
सरकारले पनि आफ्नो १०० बुँदे कार्यसूचीमा बैंक खाता, डिजिटल वालेट, शेयर लगानी तथा अन्य वित्तीय गतिविधिलाई समेट्ने समन्वित डिजिटल सम्पत्ति लगत (इन्टिग्रेटेड डिजिटल एसेट रजिस्टरी) स्थापना गर्ने घोषणा गरेको छ ।
राष्ट्रिय परिचयपत्रमा भएका विवरणहरूलाई बैंकको केवाईसीमा जोड्ने गरी काम अघि बढेको कर्जा सूचना केन्द्रले जनाएको छ । सेन्ट्रलाइज्ड केवाईसीका लागि केन्द्रमा आवश्यक प्राविधिक क्षमता विकास भइरहेको र छिट्टै कार्यान्वयनमा आउने तयारी भइरहेको बताइएको छ।
यस्तो छ केवाईसी सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास
विश्वका धेरै देशहरूले बैंकिङ प्रणालीलाई सुरक्षित, पारदर्शी र छिटो बनाउन केन्द्रीय ग्राहक पहिचान प्रणाली (Centralized KYC) वा त्यससँग मिल्दोजुल्दो डिजिटल KYC संरचना अपनाइसकेका छन्।
विशेषगरी वित्तीय अपराध नियन्त्रण, मनी लन्डरिङ रोकथाम र सेवा प्रवाहलाई सरल बनाउन विकसित तथा विकासशील दुवै देशले एकीकृत ग्राहक डेटा प्रणालीलाई प्राथमिकता दिएका छन्। यसले बैंकहरूले छुट्टाछुट्टै रूपमा ग्राहकको विवरण संकलन गर्ने परम्परागत अभ्यासलाई क्रमशः विस्थापित गर्दै लगेको छ।
भारतमा सन् २०१६ देखि नै “CKYC (Central Know Your Customer)” प्रणाली लागू गरिएको छ, जसमा ग्राहकको KYC विवरण एकपटक दर्ता भएपछि त्यसलाई सबै बैंक तथा वित्तीय संस्थाले साझा रूपमा प्रयोग गर्न सक्छन्। यस प्रणालीले बीमा, बैंकिङ, म्युचुअल फन्डजस्ता क्षेत्रमा समेत एउटै KYC नम्बरमार्फत सेवा लिन सकिने व्यवस्था गरेको छ।
यसैगरी सिंगापुर, यूके र युरोपेली संघका धेरै देशहरूमा डिजिटल आइडेन्टिटी र ई– KYC प्रणालीलाई बैंकिङ सेवासँग एकीकृत गरिएको छ, जसले अनलाइन भेरिफिकेशनमार्फत ग्राहक पहिचानलाई केही मिनेटमै सम्पन्न गर्ने सुविधा दिएको छ।
अन्तर्राष्ट्रिय अभ्यासले पनि केन्द्रीयकृत केवाईसी प्रणालीले वित्तीय पारदर्शिता बढाउने, कागजी प्रक्रिया घटाउने तथा सेवा प्रवाहलाई आधुनिक बनाउने स्पष्ट रुपमा देखाइसकेको छ। पश्चिमा मुलुक र छिमेकी मुलुक भारतले समेत सन् २०१६ मै सीकेवाईसी लागू गरिसकेको अवस्थामा नेपालले सेन्ट्रलाइज्ड केवाईसी लागू गर्न ढिला गर्न नहुने विज्ञहरुको सुझाव छ।
भारतसहित विकसित देशहरूले यस प्रणालीलाई सफलतापूर्वक लागू गरिसकेका कारण नेपालका लागि पनि यो वित्तीय सुधारको महत्वपूर्ण कदम मानिएको छ। यदि यो प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेमा ग्राहकको समय बचत हुनुका साथै बैंकिङ क्षेत्रको दक्षता र विश्वसनीयता समेत उल्लेख्य रूपमा बढ्नेछ।







