काठमाडौँ । इरानले सम्भावित सैन्य आक्रमण भए आफ्नो आणविक कार्यक्रमलाई थप तीव्र बनाउने संकेत दिएको छ। इरानका संसदीय राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगका प्रवक्ता इब्राहिम रेजाईले आवश्यक परे ९० प्रतिशतसम्म युरेनियम संवर्द्धन गर्ने विकल्पबारे विचार हुन सक्ने बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिमा यस्तो कदम परिस्थितिअनुसार संसदमा छलफलको विषय बन्न सक्ने उल्लेख गरेका छन्। ९० प्रतिशत शुद्धताको युरेनियमलाई अन्तर्राष्ट्रिय रूपमा हतियारस्तरको मानिन्छ।
यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्धविराम कमजोर अवस्थामा रहेको बताएका छन्। तेहरानको पछिल्लो प्रस्ताव अस्वीकार भएपछि कूटनीतिक पहलहरू अझ जटिल बनेको संकेत देखिएको छ।
यसअघि अमेरिकी तथा इजरायली आक्रमणपछि इरानका आणविक केन्द्रहरू नष्ट भएको दाबी गरिएको थियो। तर, करिब ४०० किलोग्राम ६० प्रतिशतसम्म संवर्द्धित युरेनियमको अवस्थाबारे अझै स्पष्ट जानकारी सार्वजनिक भएको छैन।
अमेरिकी गुप्तचर निकायका अनुसार यस्तो उच्चस्तरको युरेनियम भण्डार पूर्ण रूपमा नष्ट वा बाहिर सार्न नसकेसम्म इरानको आणविक कार्यक्रमलाई पूर्ण रूपमा रोक्न कठिन हुने देखिन्छ।
हाल जारी अमेरिका–इरान वार्तामा यही विषय प्रमुख विवादको रूपमा रहेको छ। इरानले यसलाई पछि छलफल गर्न चाहेको छ भने अमेरिकाले उच्च संवर्द्धित युरेनियम बाहिर पठाउने र स्वदेशमै संवर्द्धन नगर्ने प्रतिबद्धता मागिरहेको छ।







