काठमाडौँ । नेपालमा एमजी ब्रान्डको नयाँ इलेक्ट्रिक एसयूभी ‘एमजी एस–६’ सार्वजनिक गरिएको छ। कम्पनीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले यस गाडीको बिक्री सुरु गरेको जनाएको छ।
नेपाली बजारमा यो एसयूभी रियर ह्वील ड्राइभ भेरियन्टमा उपलब्ध गराइएको छ, जबकि अन्तर्राष्ट्रिय बजारमा भने अलह्वील ड्राइभ विकल्प पनि पाइन्छ।
एमजी एस–६ मा १८० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले ३५० न्युटन मिटर टर्क प्रदान गर्छ। कम्पनीका अनुसार यो गाडीले ० देखि १०० किलोमिटर प्रतिघण्टा गति ७.३ सेकेण्डमै लिन सक्छ।
गाडीमा ७७ किलोवाट–आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले एकपटक पूर्ण चार्ज गर्दा ५३० किलोमिटरसम्म यात्रा गर्न सक्ने डब्लूएलटीपी मापदण्डअनुसार दाबी गरिएको छ। साथै, १४४ किलोवाट क्षमताको डीसी फास्ट चार्जरले करिब ३८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
डिजाइनका हिसाबले ४७०८ एमएम लम्बाइ, १९१२ एमएम चौडाइ र १६७२ एमएम उचाइ रहेको यस एसयूभीमा २८३५ एमएमको ह्वीलबेस छ। ६७४ लिटर बुट स्पेस रहेको गाडीको क्याबिन एमजी फाइभबाट प्रेरित छ।
सुविधातर्फ १२.८ इन्चको टचस्क्रिन, ११ स्पीकर साउन्ड सिस्टम, हिटेड सिट, पानोरामिक सनरुफ लगायतका फिचर समावेश छन्। साथै, एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास), अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट र ७ एयरब्याग जस्ता सुरक्षा सुविधा पनि उपलब्ध छन्।
यो एसयूभीले युरो एनक्यापबाट पाँचतारे सुरक्षा रेटिङ प्राप्त गरेको छ। नेपाली बजारमा यसको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।







