काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार कम्पनीको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको देखिन्छ।

गत आर्थिक वर्षको चैत मसान्तसम्म ३२ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालू वर्षको सोही अवधिमा करिब ३४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ, जुन ३.३५ प्रतिशतले बढी हो।

यससँगै कम्पनीको जीवन बीमा कोष पनि उल्लेख्य रूपमा विस्तार भएको छ। अघिल्लो वर्ष ९ अर्ब ५१ करोड रुपैयाँ रहेको कोष बढेर करिब ११ अर्ब ९० करोड रुपैयाँ पुगेको छ, जुन करिब २५ प्रतिशतको वृद्धि हो।

यद्यपि, कम्पनीको बीमाशुल्क आम्दानीमा केही गिरावट देखिएको छ। समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन ३ अर्ब ७१ करोड रुपैयाँबाट घटेर ३ अर्ब ५२ करोड रुपैयाँमा सीमित भएको छ, अर्थात् करिब ५ प्रतिशतले कमी आएको छ।

यस्ता छन् वित्तीय सूचक :

(AMT in RS. 000)

त्यसैगरी, कुल आम्दानीमा १.६१ प्रतिशतले गिरावट आएको छ भने खर्च भने १.७६ प्रतिशतले बढेको छ। अभिकर्तालाई दिइने कमिशनमा भने उल्लेखनीय वृद्धि भई १०.१२ प्रतिशतले बढेर ३१ करोड ६७ लाख रुपैयाँ पुगेको छ।

प्रतिशेयर आम्दानी अघिल्लो वर्षको ११.०७ रुपैयाँबाट घटेर ८.५५ रुपैयाँमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ भने १४१.३८ रुपैयाँ कायम रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब २८ करोड रुपैयाँ रहेको छ। साथै, महाविपत्ति कोषमा २३ करोड ३२ लाख रुपैयाँ र जगेडा कोषमा ३० करोड ६४ लाख रुपैयाँ सञ्चित रहेको विवरणमा उल्लेख गरिएको छ।