काठमाडौं । बैंक तथा वित्तीय संस्थाका चार छाता संगठनहरूले कर्जा असुलीका क्रममा धितो लिलामी गरेको विषयलाई लिएर बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ पर्नु बैंकिङ प्रणालीको स्थायित्वमै असर पार्न सक्ने भन्दै आपत्ति जनाएका छन्।

बुधबार नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेलाई स्मार्ट टेलिकमको धितो लिलामीसँग सम्बन्धित विषयमा प्रहरीले पक्राउ गरेको थियो। बैंकले करिब ४ अर्ब ६० करोड रुपैयाँ कर्जा असुलीका क्रममा टेलिकमका उपकरण लिलामी गरेको बताइएको छ।

यस घटनाप्रति नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै गम्भीर चासो व्यक्त गरेका छन्।

संघहरूले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकका निर्देशनअनुसार बैंकहरूले जनताको निक्षेप सुरक्षित रूपमा परिचालन गरी कर्जा प्रवाह र असुली गर्दै आएको उल्लेख गरेका छन्। कानुनअनुसार असुली प्रक्रिया अन्तर्गत धितो लिलामी गर्नु बैंकको अधिकार र दायित्व दुवै भएको उनीहरूको भनाइ छ।

चारै संस्थाले कर्जा असुली प्रक्रियामा संलग्न सीईओ पक्राउ परेमा बैंकिङ क्षेत्रको साख कमजोर हुन सक्ने र प्रणालीगत स्थायित्वमा असर पर्न सक्ने चेतावनी दिएका छन्।

उनीहरूले आवश्यक अनुसन्धान गर्नुपर्ने भए पनि सम्बन्धित सीईओलाई थुनामुक्त राखी प्रक्रिया अघि बढाउन आग्रह गर्दै सबै पक्षलाई संवेदनशील हुन अनुरोध गरेका छन्।