काठमाडौं । हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा नजिकको न्यून चापीय प्रणालीको प्रभाव देखिएकाले मौसममा बदलीको अवस्था कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ।
केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसोतिर पनि यिनै प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली कायम रहने र कतिपय स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली रहने र केही स्थानमा वर्षा तथा हिमपात जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।






