काठमाडौँ । देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।

हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।

आगामी ४ दिनसम्म अझै गर्मी बढ्न सक्ने भएका कारण आवश्यक तयारीमा लाग्न तथा सुरक्षाका विभिन्न उपाय अपनाउन विभागले आग्रह गरेको छ ।  असार ३ गते देखि २०८१ असार ६ गते सम्म तातो हावा तथा तातो लहर को सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन विभागले सचेत गराएको छ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू(भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।