काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको छ ।
शुक्रबार न्यायाधीशहरु सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले कुनै एक वरिष्ठ अधिवक्ताको रोहवरमा उनलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै अदालतले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।
आफ्ना पति पाण्डेलाई गैरकानुनी थुनामा राखिएको भन्दै निरु दाहालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । स्मार्ट टेलिकमको सम्पत्ति लिलाम बिक्री गर्दा आपराधिक विश्वास घातलगायतका कसूर गरेको आरोपमा पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो । पाण्डे पक्राउको बैंक तथा वित्तीय संस्थाका संघ संगठनहरूले विरोध गरेका थिए ।






