काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन यसै साता चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। क्रेमलिनका अनुसार उनी मंगलबार दुईदिने भ्रमणका लागि बेइजिङ पुग्ने कार्यक्रम तय गरिएको छ।

भ्रमणका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्दै दुई देशबीचको रणनीतिक साझेदारी र सहकार्यलाई अझ मजबुत बनाउने विषयमा छलफल गर्नेछन्।

यसका साथै, दुवै नेताबीच अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा पनि विचार आदानप्रदान हुने र छलफलपछि संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने तयारी रहेको जनाइएको छ।

पुटिनले भ्रमणका क्रममा चीनका प्रधानमन्त्री ली छिआङसँग पनि भेट गरी आर्थिक तथा व्यापारिक सहकार्यका विषयमा कुराकानी गर्ने कार्यक्रम रहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सम्पन्न भएको केही समयमै पुटिनको भ्रमण घोषणा गरिएको हो। यस भ्रमणले रुस–युक्रेन द्वन्द्वसहित विश्व व्यापार र भूराजनीतिक तनावलाई कम गर्न सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

चीनले भने यसअघि नै युद्ध अन्त्यका लागि वार्ताको आवश्यकता औंल्याउँदै आफूलाई तटस्थ भूमिकामा प्रस्तुत गर्दै आएको छ।