भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवी खेती विस्तार भइरहेको छ । दीर्घकालीन आम्दानी लिन सकिने सम्भावना देखिएपछि वडाले पनि किवी खेतीलाई प्राथमिकतामा राख्दै किसानलाई प्रोत्साहन गर्दै आएको छ ।

किवी खेतीका लागि उपयुक्त भूगोल र हावापानी रहेको क्षेत्रलाई लक्षित गर्दै वडाले हालसम्म करिब १७० जना किसानलाई किवीका बिरुवा वितरण गरिसकेको वडाध्यक्ष सुनिल राईले जानकारी दिए। उनका अनुसार हालसम्म करिब दुई हजार ५०० भन्दा बढी बिरुवा वितरण भइसकेको छ ।

“हाम्रो वडामा किवी खेतीको राम्रो सम्भावना छ”, वडाध्यक्ष राईले भने, “किसानको रुचि पनि यसतर्फ बढ्दो छ । किवीका माध्यमबाट किसानलाई आयआर्जनमा जोड्ने लक्ष्यसहित खेती विस्तारमा जोड दिएका छौँ ।”

किसानलाई व्यावसायिक कृषि उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यले वडा कार्यालयले बिरुवा वितरणसँगै प्राविधिक सहयोग पनि उपलब्ध गराउँदै आएको जनाएको छ । यहाँको हावापानी किवी खेतीका लागि अनुकूल भएकाले किसानलाई व्यावसायिक रूपमा खेती विस्तार गर्न प्रोत्साहन गरिएको हो ।

वडाको सहयोग पाएपछि यहाँका अधिकांश किसान व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएको स्थानीय भीमसेन राई बताउछन् । “एकपटक विस्तार गरेपछि सामान्य हेरचाहमै वर्षौँसम्म आम्दानी लिन सकिने भएकाले किसान यसतर्फ आकर्षित भएका हौँ”, उनले भने ।

उनका अनुसार अहिले आफ्नै १० रोपनी जमिनमा करिब १५० बोट किवी खेती विस्तार गरिएको छ । राम्रो फलेको एक बोटबाट नौ हजार रुपैयाँसम्म आम्दानी लिएको उनले जानकारी दिए । त्यस्तै, अर्का किसान तेजन विष्टले पनि वडाबाट बिरुवा र प्राविधिक सहयोग पाएपछि किवी खेतीमा उत्साह थपिएको बताए । परम्परागत बालीको तुलनामा किवीबाट राम्रो आम्दानी लिन सकिने भएकाले आफूहरू यसतर्फ लागेका उनको भनाइ छ । हाल ५० बोट खेती विस्तार गरेको उनले बताए।

हाल वडाका मझौले, खावा, रमितेलगायतका क्षेत्रमा किवी खेती विस्तार हुँदै गएको छ । वडाको पहल र किसानको सक्रियतासँगै यस क्षेत्र किवी उत्पादनको सम्भावित केन्द्रका रूपमा विकास हुँदै गएको स्थानीय किसानको भनाइ छ ।