रूपन्देही । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री सुनिल लम्सालले सरकारले सुकुमबासी समस्या समाधानलाई तीव्रता दिँदै दसैँसम्म सबै योग्य लाभग्राहीलाई जग्गाधनी पुर्जा वितरण गर्ने तयारी गरिरहेको बताएका छन्।
रूपन्देही–१ मा मतदातासँगको संवादका क्रममा मन्त्री लम्सालले सुकुमबासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार प्रारम्भदेखि नै योजनाबद्ध रूपमा लागेको जानकारी दिए। उनका अनुसार मन्त्रिपरिषद्को पहिलो बैठकबाटै पाँच बुँदे कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ।
उनले काठमाडौँ र अन्य जिल्लामा सुकुमबासी समस्या फरक–फरक प्रकृतिको रहेको उल्लेख गर्दै विशेषगरी वर्षायामअघि प्रभावित नागरिकलाई वैकल्पिक व्यवस्था आवश्यक रहेको बताए। सरकार परिणाममुखी ढंगले अघि बढिरहेको दाबी गर्दै उनले कसैको प्रभावमा परेर आन्दोलनमा नजान सर्वसाधारणलाई सुझाव दिएका छन्।
मन्त्री लम्सालले तोकिएको समयभित्रै सबै योग्य लाभग्राहीलाई लालपुर्जा वितरण गर्ने लक्ष्यमा सरकार तीव्र गतिमा अघि बढिरहेको पुनः दोहोर्याए।






