काठमाडौँ । मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र आपूर्ति अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य पुनः चर्किँदै गएको छ, जसले विश्वभर कृषि उत्पादन लागतमा दबाब बढाएको छ।
विश्व बैंकको पछिल्लो प्रतिवेदनअनुसार सन् २०२६ को पहिलो तीन महिनामा मलको औसत मूल्य करिब १२ प्रतिशतले उकालो लागेको छ। पछिल्ला सात त्रैमासमध्ये छैटौं पटक मूल्य वृद्धि भएको उल्लेख गर्दै प्रतिवेदनले हालको दर सन् २०२२ पछिकै उच्च स्तरमा पुगेको जनाएको छ।
विशेषगरी पश्चिम एसियामा बढेको तनाव र हर्मुज जलडमरूमध्यमा देखिएको अवरोधले आपूर्ति प्रणालीमा समस्या ल्याएको छ। यसका कारण विश्व बजारमा मलको उपलब्धता प्रभावित भई मूल्यमा दबाब परेको बताइएको छ।
सबैभन्दा धेरै वृद्धि युरियामा देखिएको छ। फेब्रुअरीयता यसको मूल्य करिब ८० प्रतिशतले बढेर प्रतिटन ८५० डलर नाघेको छ, जुन सन् २०२२ पछिकै उच्च बिन्दु हो। त्यस्तै, सल्फरको मूल्य दोब्बर भएपछि डीएपी मल पनि महँगिएको छ।
पोटासको मूल्यमा वृद्धि भए पनि यसको आपूर्ति अन्य मलको तुलनामा केही सहज रहेको जनाइएको छ। नाइट्रोजन र फस्फेटमा आधारित मल उत्पादनको लागत बढ्दै जाँदा मूल्य अझै उच्च रहने अनुमान गरिएको छ।
इरान–इजरायल तनावका कारण केही देशमा उत्पादन र निर्यात प्रभावित भएको छ। इरानमा अमोनिया उत्पादन रोकिएको छ भने कतारका औद्योगिक संरचनामा क्षति पुगेपछि उत्पादनमा अवरोध आएको छ। भारतले पनि कच्चा पदार्थको अभावका कारण उत्पादन घटाएको छ भने चीनले निर्यातमा कडाइ गरेपछि बजारमा थप दबाब सिर्जना भएको छ।
यी सबै कारणले किसानहरूको मल खरिद क्षमता कमजोर बन्दै गएको छ। यद्यपि, केही किसानले पहिले नै मल भण्डारण गरिसकेकाले तत्काल ठूलो संकट भने नआएको प्रतिवेदनमा उल्लेख छ।
विश्व बैंकले सन् २०२६ भरि मलको मूल्य उच्च रहने र सूचकांक ३० प्रतिशतभन्दा बढीले बढ्न सक्ने अनुमान गरेको छ। तर, नयाँ आपूर्ति थपिएमा सन् २०२७ देखि मूल्य केही घट्न सक्ने अपेक्षा गरिएको छ। -एजेन्सी






