काठमाडौँ । वैशाख महिनामा ७४ हजारभन्दा बढी नेपाली नागरिक वैदेशिक रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगार विभागको पछिल्लो विवरणअनुसार उक्त अवधिमा नयाँ तथा पुन: श्रम स्वीकृतिसहित कुल ७४ हजार ४२९ जनाले श्रम अनुमति लिएका हुन्।

विभागीय तथ्यांक अनुसार विदेशिनेहरूमध्ये ६५ हजार १० पुरुष तथा ९ हजार ४१९ महिला रहेका छन्। यस अवधिमा पहिलो पटक श्रम स्वीकृति लिनेको संख्या ४१ हजार ३२४ रहेको छ भने पुन: श्रम स्वीकृति प्राप्त गर्ने ३३ हजार १०५ जना रहेका छन्।

यसअघि चैत महिनामा पुन: श्रम स्वीकृतिसहित ६१ हजार ८१९ जना वैदेशिक रोजगारीमा गएका थिए। त्यसको तुलनामा वैशाखमा विदेशिनेको संख्या १२ हजार ६१० ले वृद्धि भएको देखिएको छ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा कुल ६ लाख ६१ हजार ७६१ नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ। तीमध्ये ५ लाख ८२ हजार ९३९ पुरुष तथा ७८ हजार ८२२ महिला रहेका छन्।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या निरन्तर उच्च रहँदा देशभित्र पर्याप्त रोजगारी अवसर सिर्जना, श्रम व्यवस्थापन तथा वैदेशिक रोजगारीको दिगोपनाबारे बहस पुन: केन्द्रित हुन थालेको छ।