काठमाडौं । कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा सांकेतिक विरोधस्वरूप लालटिन बालेर प्रदर्शन गरेका छन्। अदालतमा हाल देखिएको घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै उनीहरूले शान्तिपूर्ण रूपमा विरोध कार्यक्रम गरेका हुन्।

नेपाल बार एसोसिएसनको नेतृत्वमा भएको उक्त प्रदर्शन सर्वोच्च अदालत परिसरमा गरिएको हो। बारका अनुसार अदालतमा रिट निवेदन दर्ता गर्ने प्रक्रियामै अवरोध सिर्जना भएको भन्दै त्यसको विरोधमा यस्तो सांकेतिक कार्यक्रम गरिएको हो।

यसअघि आइतबार बसेको नेपाल बार एसोसिएसनको बैठकले अदालतको वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाउँदै दिउँसै लालटिन बालेर विरोध गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार मंगलबार दिउँसो १ बजे बारको कार्यालय प्राङ्गणमा विरोध कार्यक्रम गरिएको हो।