काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र नेपाल भ्रमणमा रहेको Asia/Pacific Group on Money Laundering (APG) का डेपुटी एक्जिक्युटिभ सेक्रेटरी डेभिड शानन नेतृत्वको टोलीबीच आज भेटवार्ता भएको छ।

भेटमा Financial Action Task Force (FATF) को ‘ग्रे–लिस्ट’मा सूचीकृत भएपछि नेपालले हासिल गरेको प्रगति तथा आगामी रणनीतिका विषयमा विस्तृत छलफल गरिएको छ। यस क्रममा बैंकिङ क्षेत्रमा सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम मूल्याङ्कन, जोखिममा आधारित सुपरिवेक्षण, कानुनी तथा नीतिगत सुधार तथा पारदर्शिता अभिवृद्धिका उपायहरूबारे पनि विचार–विमर्श भएको थियो।

त्यसैगरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँगको समन्वय, निजी क्षेत्रको सहभागिता, International Cooperation Review Group (ICRG) मा गरिने रिपोर्टिङलगायत विषयमा समेत छलफल केन्द्रित रहेको जनाइएको छ। नेपाललाई ‘ग्रे–लिस्ट’बाट बाहिर ल्याउन संस्थागत क्षमता सुदृढीकरण र अन्तर्राष्ट्रिय निकायबाट प्राप्त हुनसक्ने प्राविधिक सहयोगबारे पनि कुराकानी भएको थियो।

सो अवसरमा गभर्नर पौडेलले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय निकायका सुझाव कार्यान्वयनमा नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको धारणा व्यक्त गरेका थिए।

नेपाल FATF को ‘ग्रे–लिस्ट’मा परेपछि APG को तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो। भेटवार्तामा APG का नीति अधिकारी किया सासल, विश्व बैंकका प्रतिनिधि, नेपाल राष्ट्र बैंकका उच्च अधिकारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा वित्तीय जानकारी इकाइका प्रमुखलगायतको उपस्थिति रहेको थियो।