काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा देशभर उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ९ महिनाको आर्थिक प्रतिवेदन अनुसार चैत महिनामा वार्षिक बिन्दुगत मुद्रास्फीति ४.४७ प्रतिशत पुगेको छ, जुन गत वर्षको सोही अवधिको ३.३९ प्रतिशतभन्दा उच्च हो।
प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहमा ४.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहमा ४.७२ प्रतिशत महँगी देखिएको छ। खाद्य समूहभित्र घिउ तथा तेलको मूल्य १२.८७ प्रतिशत, फलफूल ११.६७ प्रतिशत र तरकारी ९.१८ प्रतिशतले बढेको छ। तर दाल, गेडागुडी, खाद्यान्न र मसालाजन्य वस्तुहरूको मूल्य भने केही घटेको उल्लेख छ।
गैर–खाद्य समूहतर्फ विविध वस्तु तथा सेवाको मूल्य १९.९४ प्रतिशतले बढ्दा यातायात खर्च १२.०३ प्रतिशतले वृद्धि भएको छ। शिक्षा क्षेत्रमा पनि ७.४६ प्रतिशतले महँगी बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।
क्षेत्रगत रूपमा हेर्दा चैत महिनामा काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४.९६ प्रतिशत मुद्रास्फीति रहेको छ। तराईमा ४.८३ प्रतिशत, पहाडमा ४.१८ प्रतिशत र हिमाली क्षेत्रमा ३.२० प्रतिशत महँगी देखिएको छ। अघिल्लो वर्षको तुलनामा सबै क्षेत्रहरूमा मूल्यवृद्धि दर केही उच्च रहेको छ।







