काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस–नेकपा एमालेनिकट कानुन व्यवसायीहरूको प्यानलका उम्मेदवार प्राडा विजयप्रसाद मिश्र निर्वाचित भएका छन् । बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्ष पदका उम्मेदवार रहेका मिश्र ५ हजार ५२ मत ल्याएर निर्वाचित भएका हुन् ।

बूढानीलकण्ठ स्थायी निवास भएका मिश्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट हुन् । तीन दशकभन्दा लामो समयदेखि कानुनी क्षेत्रमा सक्रिय मिश्र एक प्रखर कानुनी अभियन्ता, कानुन क्षेत्रका विज्ञ र समाजसेवी मानिन्छन् । नेपाल ल क्याम्पसका प्राध्यापक समेत रहेका उनको शिक्षा क्षेत्रमा पनि योगदान छ । उनी नेपाल ल क्याम्पसका सहप्रध्यापक हुन् ।

उनका निकटमप्रतिद्वन्द्वी व्यावसायिक कानुन व्यवसायी समूहबाट अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले २ हजार ६ सय २१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, महासचिवमा वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला निर्वाचित भएका छन् । कोइरालाले ४ हजार ८ सय ७४ मत पाएका छन् ।कोइरालाका निकटतम प्रतिस्पर्धी अधिवक्ता यज्ञमणि न्यौपानेले २३६७ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपाध्यक्षमा (कोशी) पदम प्रसाद लिम्बू, उपाध्यक्ष (मधेश) अजय शंकर झा, उपाध्यक्ष (बागमती) तेजबहादुर रावल, उपाध्यक्ष (गण्डकी) भूपेन्द्र खनाल, उपाध्यक्ष (लुम्बिनी) कृष्ण प्रसाद पोख्रेल, उपाध्यक्ष (कर्णाली) विवस कुमार बस्नेत र उपाध्यक्ष (सुदूरपश्चिम) सिद्धराज ओझा निर्वाचित भएका छन् ।

उपाध्यक्ष (महिला, खुल्ला)तर्फ सरस्वती श्रेष्ठ, महासचिवमा केदारप्रसाद कोइराला र कोषाध्यक्षमा जगत बहादुर कार्की विजयी भएका निर्वाचन समितिले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष विजयप्रसाद मिश्रले स्वतन्त्र रस्वच्छ न्यायपालिका स्थापनाका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।‘बार सबैलाई समेटेर एकजुट भएर अघि बढ्नेछौं । निर्वाचन हुनुअघिको सबै वादविवाद आजबाट समाप्त भयो,’ उनले भनेका छन्, ‘स्वतन्त्र न्यायपालिका र स्वच्छ न्यायपालिका स्थापनाका लागि काम गर्नेछौं ।’

बारको विधान नै मुख्य कार्यपत्र रहने बताउँदै युवा, महिला कानुन व्यवसायीको हकहितमा काम गर्ने बताए ।