काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदन भएको छ। मंगलबार बसेको समितिको बैठकले सुनुवाइ सम्पन्न गरेलगत्तै उनलाई प्रधानन्यायाधीशका रूपमा अनुमोदन गर्ने निर्णय गरेको हो।

अब संसदीय प्रक्रिया पूरा भएसँगै संसद् सचिवालयले उक्त निर्णय राष्ट्रपति कार्यालयमा पठाउनेछ र त्यसपछि औपचारिक नियुक्ति प्रक्रिया अघि बढ्नेछ। यसअघि संवैधानिक परिषद्ले न्याय परिषद्बाट सिफारिस गरिएका ६ जनामध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो।

यद्यपि, उक्त सिफारिसपछि वरिष्ठताक्रम मिचिएको भन्दै नेपाल बारलगायत विभिन्न पक्षले असन्तुष्टि जनाएका थिए। सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई पछि पार्दै गरिएको सिफारिसले न्यायालयको स्वतन्त्रता र पारदर्शितामाथि प्रश्न उठेको छ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत निर्णय प्रक्रियालाई सहज बनाइएपछि परिषद्को बैठकले शर्माको नाम अघि बढाएको थियो। उक्त निर्णयमा परिषद्का केही सदस्यले असहमति जनाए पनि बहुमतका आधारमा सिफारिस गरिएको थियो।

यसैबीच, नेपाल पूँजीबजार लगानीकर्ता संघले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पूँजीबजार सुधारसम्बन्धी सुझावहरू धितोपत्र बोर्डसमक्ष पेश गरेको छ। संघले पूँजीबजारलाई पारदर्शी, विश्वसनीय र प्रविधिमैत्री बनाउँदै दीर्घकालीन आर्थिक विकासको आधारका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याएको छ।