बाँके । कोहलपुरस्थित भिएमआई ग्रुप अन्तर्गत सञ्चालनमा रहेको वर्षा रिसाइक्लिङ प्लान्टमा मङ्गलबार साँझ ठूलो आगलागी भएको छ।
खाना पकाउने विभिन्न प्रकारका कुकर उत्पादन गर्ने यस उद्योगको पार्वतीपुरमा रहेको प्लान्टमा आगलागी हुँदा उल्लेखनीय आर्थिक क्षति भएको जनाइएको छ। समूहका कार्यकारी अध्यक्ष कन्हैयालाल वैद्यका अनुसार क्षतिको यकिन विवरण संकलन भइरहेको भए पनि प्रारम्भिक अनुमानमा लाखौं रुपैयाँ बराबरको नोक्सानी भएको देखिएको छ।
उहाँका अनुसार करिब तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा ल्याइएको थियो। मुख्य उत्पादन क्षेत्रमा ठूलो क्षति हुनबाट जोगाउन सफल भए पनि कच्चा पदार्थ राखिएको गोदाम पूर्ण रूपमा जलेर नष्ट भएको छ।
नेपालगन्ज र कोहलपुरबाट पुगेका दमकल, प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा राति करिब ८ बजे आगो निभाइएको हो। प्रत्यक्षदर्शीहरूले खेतमा लगाइएको आगो फैलिँदै उद्योगसम्म पुगेपछि दुर्घटना भएको बताएका छन्।
घटनाको कारण र वास्तविक क्षतिबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।






