काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा राजधानीमा सम्पन्न भएको छ। सभा प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजना गरिएको थियो।

सभाले कम्पनीको हालको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यसअनुसार कम्पनीले १० करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर तिर्न करिब ५६ लाख रुपैयाँ नगद लाभांश प्रदान गर्नेछ।

बैठकमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। साथै आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह र अन्य वित्तीय प्रतिवेदनहरू पनि स्वीकृत भएका छन्।

यसैगरी, कम्पनीले यसअघि पारित गरेको १७ प्रतिशत हकप्रद शेयरसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने तथा बोनस शेयर जारीपश्चात प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिएको छ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले वैशाख २३ गते एक दिन बुक क्लोज गरेको थियो।