काठमाडौँ । डोङफेङ मोटरको सहायक कम्पनीले प्रिमियम विद्युतीय सवारी ब्रान्ड भोया  अटोमोटिभ (HKEX: 7489) मा आफ्नो स्वामित्व थप विस्तार गरेको छ।

भोयाका अनुसार Dongfeng Motor Hong Kong International ले दोस्रो बजारमार्फत करिब २ करोडभन्दा बढी  सेयर खरिद गरेको छ, जुन कम्पनीको कुल सेयर पूँजीको झण्डै ०.५५ प्रतिशत हो।

यो खरिदपछि डोङफेङ र यससँग सम्बन्धित निकायहरूको संयुक्त हिस्सेदारी करिब ७० प्रतिशतभन्दा माथि पुगेको छ, जसले कम्पनीमाथिको नियन्त्रण अझ सुदृढ बनाएको छ। हाल नियन्त्रणकारी समूहसँग अर्बौँ घरेलु सेयर तथा करोडौँ H सेयर स्वामित्वमा रहेका छन्।

सन् २०२० को अन्त्यतिर सार्वजनिक गरिएको भोया २०२१ मा औपचारिक रूपमा स्थापना भएको ब्रान्ड हो, जसले मध्यमदेखि उच्च मूल्य वर्ग (करिब २ लाखदेखि ५ लाख युआन) का विद्युतीय सवारी साधन उत्पादन गर्दै आएको छ।

डोङफेङले २०२५ अगस्टमा भोयालाई ‘लिस्टिङ बाइ इन्ट्रोडक्सन’ विधिमार्फत Hong Kong Stock Exchange मा सूचीकृत गर्ने घोषणा गरेको थियो। यस प्रक्रियामा नयाँ सेयर जारी नगरी पहिलेका सेयरलाई मात्र कारोबारका लागि खुला गरिन्छ।

भोया यसै वर्ष मार्च १९ मा ०७४८९ कोडअन्तर्गत हङकङ स्टक एक्सचेन्जमा सूचीकृत भएको हो।

कम्पनीले वित्तीय रूपमा पनि उल्लेखनीय प्रगति देखाएको छ। सन् २०२५ मा करिब १ अर्ब युआनभन्दा बढी खुद नाफा कमाएको जनाएको छ। आम्दानी २०२३ को करिब १२ अर्ब युआनबाट बढेर २०२५ मा झण्डै ३५ अर्ब युआन पुगेको छ।

बिक्रीतर्फ पनि उल्लेखनीय वृद्धि भएको छ—२०२३ मा करिब ५० हजार युनिट रहेको बिक्री २०२५ मा बढेर डेढ लाख युनिट नाघेको छ। चालु वर्षको पहिलो चार महिनामै करिब ४९ हजार सवारी ग्राहकलाई हस्तान्तरण गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशतले बढी हो।