काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले विकास निर्माणका कामलाई राजनीतिक स्वार्थसँग जोड्ने प्रवृत्ति हटाउनुपर्ने बताएका छन्।

नागार्जुन नगरपालिकाले आयोजना गरेको वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले सडक, खानेपानीलगायत आधारभूत सेवाका विषयमा समेत राजनीति गरिनु उचित नभएको टिप्पणी गरे।

उनले विगतमा सरकारहरू जनअपेक्षाअनुसार प्रभावकारी रूपमा अघि बढ्न सकेको भए राजधानीमै अहिले आधारभूत आवश्यकताका विषयमा बहस गर्नुपर्ने अवस्था नआउने धारणा व्यक्त गरे।

सभामुख अर्यालले हालका जनप्रतिनिधिहरू नयाँ जनादेशसहित आएका भएकाले पुराना कमजोरी दोहोरिन नदिन सचेत रहनुपर्ने बताए। उनले विकासलाई जनमुखी बनाउँदै सुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्न आग्रह गरे।

स्थानीय तहले नीति तथा कार्यक्रम तय गर्दा नागरिकको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राख्नुपर्नेमा उनले विशेष जोड दिएका छन्।