काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विशेष साधारण सभा बोलाएको छ। बैंकको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले असार ३ गते बिहान ९ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा भौतिक उपस्थितिसहित भर्चुअल माध्यम (जुम) बाट पनि सञ्चालन गरिनेछ।

सभामा बैंकले प्रति सेयर १०० रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ‘७.५ प्रतिशत सिटिजन्स अविमोच्य असञ्चिती अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव पारित गर्नेछ। यसका लागि प्रबन्धपत्र संशोधनसम्बन्धी विशेष प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

प्रस्तावित संशोधनमा अग्राधिकार सेयरमार्फत पूँजी वृद्धि गर्ने, अधिकृत, जारी तथा चुक्तापूँजी समायोजन गर्ने र संरचनागत परिवर्तन गर्ने विषय समेटिएका छन्।

यसैगरी, यसअघि रोकिएको सञ्चालक निर्वाचन प्रक्रिया पुनः अघि बढाउने प्रस्ताव पनि सभामा पेश गरिनेछ। सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण स्थगित गरिएको उक्त प्रक्रिया अन्तिम फैसला पश्चात पुनः कार्यान्वयनमा ल्याउन लागिएको हो।

सभा प्रयोजनका लागि बैंकले जेठ २६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको जनाएको छ।