काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि चीनका राजदूत चाङ माओमिङ बीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ। भेट लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सम्पन्न भएको हो।
भेटका क्रममा नेपाल–चीन सम्बन्ध, शान्तिपूर्ण सहअस्तित्व, आपसी सम्मान तथा दीर्घकालीन मैत्रीलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। साथै, आर्थिक सहकार्य र भविष्यका साझेदारीका अवसरबारे पनि विचार आदानप्रदान गरिएको थियो।
उपराष्ट्रपति यादवले पछिल्ला चार दशकमा चीनले हासिल गरेको विकासको प्रशंसा गर्दै व्यापार, पर्यटन, पूर्वाधार, ऊर्जा र प्रविधि हस्तान्तरणका क्षेत्रमा चिनियाँ सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
राजदूत चाङ माओमिङले नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो।






