गुगलले स्वास्थ्य प्रविधि क्षेत्रमा नयाँ पहल गर्दै प्रयोगकर्ताको दीर्घायु र स्वस्थ जीवनशैलीलाई सहयोग गर्ने उद्देश्यसहित नयाँ प्रणाली सार्वजनिक गरेको छ। कम्पनीले यसै महिनाभित्र ‘गुगल हेल्थ एप’, ‘गुगल हेल्थ कोच’ र ‘फिटबिट एअर’ जस्ता सेवा बजारमा ल्याएको हो।
यस नयाँ प्रणालीको मुख्य उद्देश्य प्रयोगकर्तालाई आफ्ना स्वास्थ्य सम्बन्धी सम्पूर्ण डाटामा पूर्ण नियन्त्रण दिँदै त्यसलाई एकीकृत र व्यवस्थित रूपमा व्यवस्थापन गर्नु रहेको छ।
एपमार्फत प्रयोगकर्ताले विभिन्न स्रोतबाट आउने स्वास्थ्य डेटा एउटै प्लेटफर्ममा हेर्न सक्नेछन्। हाल प्रयोगमा रहेका स्मार्टवाच, फिटनेस एप, डिजिटल तौल मापन यन्त्र वा मेडिकल रिपोर्टहरू छुट्टाछुट्टै हेर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै सबै जानकारी एउटै सुरक्षित प्रणालीमा जोडिनेछ। यसले दैनिक व्यायाम, खानपान, तौल र निद्रासम्बन्धी विवरणलाई विश्लेषण गरी स्वास्थ्यको समग्र ट्रेन्ड प्रस्तुत गर्नेछ।
त्यस्तै, ‘गुगल हेल्थ कोच’ नामक सुविधाले संकलित डाटाको आधारमा प्रयोगकर्तालाई व्यक्तिगत स्वास्थ्य सुझाव दिनेछ। यसले प्रयोगकर्तालाई आफ्नो फिटनेस लक्ष्य हासिल गर्न सहयोग पुर्याउने कम्पनीको दाबी छ। यो प्रणाली ‘हेल्थ कनेक्ट’ तथा ‘एप्पल हेल्थ’ लगायतका प्लेटफर्मसँग पनि एकीकृत हुन सक्नेछ।
अमेरिकामा सुरुमा उपलब्ध हुने यस सेवामा प्रयोगकर्ताले आफ्ना मेडिकल र ल्याब रिपोर्ट समेत जोड्न सक्नेछन् र आगामी महिनाहरूमा अन्य देशमा विस्तार गर्ने योजना रहेको छ।
गुगलले यसलाई खुला इकोसिस्टमको रूपमा विकास गरेको बताउँदै प्रयोगकर्ताले आफ्ना स्वास्थ्य डाटा परिवार, एप वा चिकित्सकसँग आवश्यक अनुसार साझा गर्न सक्ने सुविधा दिएको छ। साथै, भविष्यमा मेडिकल रेकर्ड सिधै चिकित्सकलाई पठाउने सुविधा पनि थपिने बताइएको छ।
कम्पनीले गोपनीयतालाई प्राथमिकतामा राख्दै प्रयोगकर्तालाई आफ्नो डाटा नियन्त्रण गर्ने पूर्ण अधिकार रहने स्पष्ट पारेको छ। साथै, यी स्वास्थ्य डाटाहरू विज्ञापन प्रयोजनका लागि प्रयोग नगरिने पनि गुगलले प्रष्ट पारेको छ।






