काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रुपन्देहीस्थित सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादित ‘तेज’ ब्रान्डको तोरी तेल न्यून गुणस्तरको भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको उक्त तेलको नमुना प्रयोगशालामा परीक्षण गर्दा सरकारी मापदण्डअनुसार नपाइएको जनाएको छ। विशेषगरी आयातित तोरीबाट उत्पादन गरिएको तेलमा गुणस्तरीय समस्या देखिएको विभागको भनाइ छ।
उक्त तेलको ब्याच नम्बर २० रहेको र उपभोग्य मिति ६ महिना तोकिएको भए पनि उत्पादन मिति २८ फागुन २०८२ उल्लेख गरिएको छ। परीक्षणमा विभिन्न गुणस्तर सूचकहरू मापदण्डअनुसार नभएको पाइएपछि उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै फिर्ता गर्न आदेश दिइएको हो।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) अनुसार विभागले सम्बन्धित उत्पादकलाई उक्त ब्याचको सबै तेल बजारबाट आफ्नै खर्चमा फिर्ता गर्न निर्देशन दिएको छ। साथै, सोही ऐनको दफा ३८ (४) बमोजिम सो तेलको बिक्री–वितरण रोक्न समेत आदेश जारी गरिएको छ।
विभागले उपभोक्तालाई पनि उक्त ब्याचको तेल प्रयोग नगर्न आग्रह गरेको छ।






