काठमाडौं । म्याग्नेसियम ग्लाइसिनेट समावेश भएका कुनै पनि आहारपूरक खाद्य पदार्थलाई सरकारले नेपालमा बिक्री–वितरण गर्न अनुमति नदिएको स्पष्ट पारेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक सूचना जारी गर्दै सामाजिक सञ्जालमा यस्ता उत्पादनबारे फैलाइएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको हो।
विभागका अनुसार प्रचलित कानुनअनुसार कुनै पनि खाद्य, स्वास्थ्य, पोषणसम्बन्धी सप्लिमेन्ट वा प्रोबायोटिक उत्पादन बजारमा ल्याउनुअघि अनिवार्य रूपमा विभागमा दर्ता गर्नुपर्ने व्यवस्था छ।
तर हालसम्म म्याग्नेसियम ग्लाइसिनेटयुक्त कुनै पनि उत्पादनलाई आहारपूरक खाद्य पदार्थका रूपमा दर्ता गरी बिक्रीको स्वीकृति दिइएको छैन।
अनधिकृत रूपमा यस्ता सामग्री बिक्री–वितरण गरेको पाइएमा सम्बन्धित कानुनअनुसार कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।
साथै, विभागले उपभोक्तालाई पनि अप्रमाणित र अनुमति नलिएका पूरक खाद्य पदार्थ प्रयोग गर्दा सतर्क रहन आग्रह गरेको छ।






