काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीन जना कार्यकारी निर्देशकको विभागीय जिम्मेवारी परिवर्तन गरेको छ। मानव संसाधन व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार २०८३ जेठ १९ गतेदेखि लागू हुने गरी उक्त सरुवा गरिएको हो।

राष्ट्र बैंकको जेठ १२ गतेको निर्णयअनुसार डा. सत्येन्द्र तिमिल्सिनालाई भुक्तानी प्रणाली विभागबाट आर्थिक अनुसन्धान विभागमा खटाइएको छ। त्यस्तै, डा. रामशरण खरेललाई आर्थिक अनुसन्धान विभागबाट सूचना प्रविधि विभागमा स्थानान्तरण गरिएको छ।

यसैगरी, निशल अधिकारीलाई सूचना प्रविधि विभागबाट भुक्तानी प्रणाली विभागमा पठाइएको सूचनामा उल्लेख गरिएको छ।

मानव संसाधन व्यवस्थापन विभागअन्तर्गत कर्मचारी अभिलेख व्यवस्थापन इकाइद्वारा जारी उक्त सूचनामा कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलको हस्ताक्षर रहेको छ।