सुर्खेत । पहिलोपटक चिनियाँ ट्रकमा हालेर बस हुम्ला पुर्याएका छन् । हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा सडकमा सञ्चालन गर्नेगरी हुम्लाकै व्यवसायी विजय लामाले उक्त बस हुम्ला पुर्याएका हुन् ।
सुर्खेतबाट रसुवाको केरुङ्ग नाकाहुँदै चिनबाट हुम्ला पुगेका बसलाई स्वागत गरिएको छ । स्थानीयले बसलाई नेपाल–चीन सीमाना हिल्सामा स्वागत गरेका हुन् ।
व्यवसायी लामाले बस राष्ट्रिय सडक सञ्जाल नजोडिँदा व्यवसायी लामाले रसुवाको केरुङबाट तिब्बतको बाटोहुँदै सोमबार नेपाल–चीन सीमा नाका हिल्सा पुर्याएका छन् । चीनको बाटोमा नेपाली नम्बर प्लेटका गाडीहरू गुडाउन नमिल्ने भएकाले चिनियाँ ट्रकमा लोड गरेर पठाएका दुबै बस एक दिन ढिलागरी नेपालीभूमी हिल्सामा पुगेको सञ्चालक लामाले जानकारी दिए ।
पहिलो पटक बस हिल्सा पुगेपछि स्थानीयले लामा संस्कार अनुसार मदिरा र खादाले भव्य स्वागत गरेका छन् । बस चालक पनि हुम्ला पुगिसकेका छन् । रक्षाबन्धन लगत्तै सिमकोट–हिल्सा–सिमकोट सडकमा बस सञ्चालन गरिने छ ।
बस सञ्चालन भएपछि सिमकोटबाट हिल्सा तथा नाम्खा गाउँपालिकाका वडा नम्बर १ देखि ५ नम्बर वडाका नागरिकहरु प्रत्यक्ष लाभान्वित हुने व्यवसायी लामाले बताए ।