काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ ।सोमबारे र्याडिशन होटेलमा आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सन्राइज बैंकका तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरे ।

डिडिए प्रतिवेदनका पश्चात् दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुनेछन् । मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुनेछ भने लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत रहनेछन् ।

गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्ने सम्झौतामा उल्लेख छ ।सम्झौतापत्र दुबै बैंकको साधारण सभामा पारित गरेपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति प्राप्त गरेपछि दुवै बैंकले एकीकृत कारोबार शुरु गर्नेछन् । सम्पूर्ण प्रक्रियाहरु टुंग्याई आगामी असार मसान्तभित्रै एकीकृत कारोबार शुरु गर्ने लक्ष्य राखिएको छ।

गत पुस २५ गते मर्जरमा प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । लक्ष्मी सनराइज बैंकको नाममा आगामी असार मसान्तभित्र एकीकृत कारोबार गर्नेगरी मर्जरको अन्तिम सम्झौता भएको हो ।मर्जपछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ बढी हुनेछ । लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ ।