क्षितिज

विक्रम संवत् १९९४ बाट सुरु भई लामो इतिहास बोकेको नेपालको बैकिङ क्षेत्र अझै परिपक्व हुन सकेको छैन । बैंकहरु न त ग्राहक अनुकुल छन्, न त कर्मचारी, न त व्यवस्थापन अनुकुल बन्न सकेका छन् । जति पुरानो हुँदै गयो उति जरा बलियो हुँदै जानु पर्नेमा झन् झन् कमजोर र असन्तुलित बन्दै गएका छन् । यो हुनुमा देशको अवस्था, आर्थिक प्रणाली, भुक्तानी सन्तुलन, सरकारका आम्दानी तथा खर्चका श्रोत तथा त्यसको समग्र परिचालन जस्ता विविध बाह्य कारण होलान् तर आन्तरिक कारणको रूपमा मर्जरलाई भुल्नु हुँदैन ।

अपरिपक्व भए पनि लामो समय देखि सन्तुलित रूपमा सञ्चालित बैंकिङ प्रणालीलाई मर्जरले नराम्ररी हल्लाई दियो । प्रत्यक्ष परिणाम आउन समय लाग्ला तर अहिलेको तितो यथार्थ चाहिँ मर्ज गराउन पर्छ भनेर लागेका सिमित व्यक्ति चाहे त्यो नियामक निकाय होस् या संस्थापक हुन उनीहरू बाहेक मर्जबाट फाइदा कसैलाई भएको देखिएन । जसरी लाइसेन्स वितरण गर्दा हचुवाका भरमा बैंक खोल्न दिइयो मर्ज पनि त्यसरी नै हचुवाका भरमा भए गरेको निर्णय भन्दा फरक देखिएन ।
मर्जरले फाइदा कसलाई भयो ?

लगानीकर्तालाई ?

छुट्टै अस्थित्वका दुई वटा बैंक रहँदा १० देखि १५ प्रतिशत लाभांश वितरण गर्न सक्ने अवस्थाका बैंक मर्ज भएपछि ५ देखि ७ प्रतिशतमा खुम्चिएका छन् । अझ केही त शून्यमा समेत झरेका छन् । मर्ज अगाडि १ प्रतिशतको हाराहारीमा रहेको निष्क्रिय कर्जा ३ देखि ४ प्रतिशतले बढेको देखिएको छ । यसबाट लगानी कर्तालाई निराशा बाहेक केही हात लागेको अवस्था होइन ।

ऋणीलाई ?

३२ वटा वाणिज्य बैंक मर्ज भएर २० को संख्यामा आइपुग्यो । ३२ वटा बैंकमा ऋणीले ऋण लिँदा १र१ महिना डिफर गरेर कर्जा तिर्दा ३२ महिना डिफर गर्न सक्थे । अब बैंकको संख्या मर्जको कारणले २० वटामा सिमित भयो ऋणीले अब २० महिना मात्रै डिफर गर्न सक्ने अवस्था सृजना भयो । अझ यसलाई यसरी बुझौँ, ३२ वटै बैंकको कर्जा १ महिना ढिलो गरी तिर्दा ऋणीले ३२ महिना बराबरको रकम आफू अनुकुल व्यवस्थापन गर्न सक्थे भने अब त्यो जम्मा २० महिनामा सिमित भयो । मर्ज पछि इकोनोमी अफ स्केल आउँछ र कर्जा सस्तो पर्न जान्छ भन्ने भ्रम पनि अब बाँकी रहेन । जति पनि बैंक मर्ज भए सबैका ब्याजदर मर्ज नभएकाको भन्दा फरक छैन अझ बढी होला कम छैन । मर्ज भएर ठुला बनिसक्दा पनि बैंकले ठुला लगानी एक्लै गर्न नसक्नु, सहबित्तियकरण मार्फत पार्टनर खोज्नु, तरलताको अवस्था पैदा गर्न नसक्नुले मर्जरले ऋणीलाई फाइदा पुगे जस्तो कुनै कोण बाट देखिएको अवस्था छैन ।

निक्षेपकर्तालाई ?

बैंक मर्ज हुनु र नहुनुले बचतकर्तालाई खासै फरक पारेन । बैंकले आफ्नो आवश्यकता अनुसार मुद्दती निक्षेपमा अलिकति ब्याजदर तल माथि पार्ने कारणले बाहेक निक्षेप कर्तालाई मर्जरले कुनै फाइदा या घाटा भएको छैन ।

कर्मचारीलाई ?

कर्मचारी तर्फ, ३२ वटा बैंकमा कार्यरत कर्मचारीले आफ्नो क्षमता अनुसार कार्यरत बैंकमा माथिल्लो तहमा बढुवा हुँदै जाने अवसर पाउँथे साथै क्षमताको हिसाबले अर्को बैंकमा सर्न सक्ने अवसर पनि प्रशस्त थियो अर्थात् कर्मचारीको लागि पनि ठुलो बजार थियो अब मर्जरले खुम्चियो । मर्जको कारणले हजारौँ कर्मचारी गाभिँदा वृत्ति विकासको अवसर लगभग शून्य भएको छ । यसै कारणले तल्लो तहका कर्मचारीको जागिर छोडेर बिदेसिने क्रम बढ्दो छ भने मौका नपाउनाले उपल्लो स्तरको कर्मचारी समेत बिदेसिन बाध्य छन् । एकै प्रकारका दक्षता र क्षमता भएका कैयौँ कर्मचारीको उपस्थितिले कुर्सीमा गएर छिटो बसिएन भने अर्को आएर बसिदेला भन्ने डरमा दौडिन बाध्य छन् । केही हदसम्म राहतको रूपमा स्वैच्छिक अवकाश अघि सारे पनि फोन गरेर अवकाश रोज्न बाध्य पार्ने यो नीति अनिवार्य अवकाश हो भन्दा अत्युक्ति नहोला । स्वैच्छिक अवकाशलाई केही हदसम्म प्रजातान्त्रिक नै मान्न सकिन्छ नत्र कनिष्ठले चलाएको शाखामा वरिष्ठलाई सरुवा गरी राजीनामा गर्न बाध्य बनाउने चलन मर्ज सुरु भए सँगै सुरु भएको विकृति हो ।

मर्ज गर्न गराउनका लागि जे जति बाहान बाजी गरियो, जे जसरी अभिव्यक्ति दिइयो त्यो सब अहिलेको परिणामले पुष्टि गर्न सकेको अवस्था छैन । आशा गरौँ भविष्यमा यसले असल परिणाम देओस् । मर्ज सोचे अनुरूप सफल हुन नसक्नुमा निम्न कारण मुख्य हुन सक्छन्

असमान बैंकहरुको मर्ज 

मर्ज सोचे जस्तो सफल हुन नसक्नुको एउटा कारण हो असमान बैंकहरु बिच भएको मर्ज । ठुला अर्थात् लामो समय देखि सञ्चालनमा रहेका र तुलनात्मक रूपमा ठुलो पोर्ट्फोलियो भएको बैंक र साना अर्थात् सञ्चालनको इतिहास धेरै लामो नभएको र तुलनात्मक रूपमा सानो पोर्टफोलियो भएको बैंक बिच मर्ज हुँदा, ठुलाले सानालाई मर्जका लागि विभिन्न सर्तमा बाँध्ने । मर्ज पश्चात् आफैँले गरेको लिखित सर्तहरू समेत अनुपालन नगर्ने करणले गर्दा कर्मचारी व्यवस्थापन लगायत सञ्चालक समितिमा समेत मनमुटाब भई चरम गुटबन्दी भोग्नु परेका कारण आफ्नो स्वामित्वमा रहेको शेयर नै बेचेर बाहिर निस्कनु पर्ने अवस्था भएकोले बजारमा संस्थापक शेयरको बिक्रीको चाप बढेको छ ।

आपसी अविश्वास र परिवर्तन हुन नचाहने प्रबृती

दुई वटा बैंक एक आपसमा गाभिए पछि व्यवस्थापकीय दक्षता अभिवृद्धि भई बैंकले गति लिनु पर्नेमा ठुला बैंकका कर्मचारीले साना बैंकका कर्मचारीको क्षमतालाई नै कम आँक्ने, मर्जका सर्तका रूपमा कर्मचारीलाई घटुवा अघि सारेर सुरुमै मनोबल गिराउने, सफलता पूर्वक सञ्चालनमा रहेको प्रविधिलाई विश्वास नगर्ने, एकले गरेको लगानीलाई अर्कोले सधैँ शङ्काको नजरले हेर्ने, समय सापेक्ष प्रविधि र उत्तम तरिकालाई अगाडि बढाउनु भन्दा आफैले अवलम्बन गरेको तरिका नै उत्तम हो भन्ने भ्रम पाल्ने, राम्रा मान्छे भन्दा हाम्रा मान्छेलाई मात्रै विश्वास गर्ने, सकेसम्म आफ्नालाई अघि बढाउन अर्कोलाई घेराबन्दीमा पारेर जागिर छोड्न बाध्य पार्ने जस्ता कारणले पनि मर्जरले सोचे जस्तो परिणाम देखाउन सकेको छैन ।

हाम्रो बैंकिङ् प्रवृत्ति

लामो समय देखी एउटै व्यवस्थापन, सधैँ आफैले अवलम्बन गरेको नीति नै ठिक, अपवाद बाहेक खुल्ला प्रतिस्पर्धाबाट भर्ती नलिई आफ्ना तरिकाले आफू अनुकूल भर्ती गरिएका आफ्ना मान्छे, त्यसपछि तिनैले भर्ती गरेका तिनैका मान्छेका लहरोले धानिएका परम्परा र अविच्छिन्न कायम भएको उत्तराधिकार र त्यसले जन्माएको परम्परागत सोच कारण सधैँ बैंक नै हाम्रो भन्ने प्रवृत्तिबाट बाहिर निस्कन नसक्नु र मर्जरबाट आएका समकक्षीलाई सधैँ तल्लो स्तरको व्यवहार गर्ने जस्ता कारणले पनि मर्जरले सोचे जस्तो परिणाम देखाउन सकेको छैन ।

मर्जको मर्म बुझ्न नसक्नु

मर्जको मर्म भनेको लामो समय यसै क्षेत्रमा बिताएकाहरूको अनुभवले बैंकलाई थप गति प्रदान गर्नुका साथै लगानी कर्तालाई उच्चतम प्रतिफल समेत सुनिश्चित गर्नु हो । यसका अलावा उचित प्रविधिको प्रयोगले ग्राहकको मन जितेर कर्जा तथा निक्षेप सँग सम्बन्धित सेवा तथा सुविधालाई थप आकर्षक बनाउँदै लैजानु पनि हो । बैंकको सम्पत्ति मध्यको एक अभिन्न अङ्ग कर्मचारी हुन । कर्मचारी व्यवस्थापन मर्ज पछि चुनौतीको रूपमा देखा पर्नु भनेको राम्रो लक्षण हुँदै होइन । काम गर्ने बेला सबै चिज छाडेर कर्मचारी समायोजनमा अल्झिनु पर्ने बाध्यताले मर्जरले सिनर्जी दिन सकेको अवस्था छैन ।

अन्त्यमा

सबैभन्दा ठुलो कुरा चाहिँ सर्वसाधारणको लगानीमा खुलेको बैंक शेयर होल्डर, नियामक निकाय, कर्मचारी, व्यवस्थापन, सञ्चालक समिति, ऋणी, निक्षेपकर्ता आदी सरोकारवाला सबैको हो । बैंक सिद्धान्तत बैंककै शैलीमा चल्नुपर्छ । मर्जका नाममा सीमित व्यक्तिको हालीमुहाली हुने अवस्था सृजना हुन गै लगानी कर्ताको लगानी डुब्ने अवस्थामा पुग्नु हुँदैन । एउटा बैंक र मर्ज असफल हुनुले समस्त प्रणालीलाई जुन पराकम्पन पैदा गर्छ त्यसले समस्त प्रणालीलाई नै प्रश्न खडा गर्ने अवस्थामा ल्याउन सक्छ , त्यस बाट बाहिर निस्कन फेरी लामो समय मात्रै होइन ठुलै कसरतको आवश्यकता पर्छ । नियामक निकायले मर्ज गराउन सक्नुलाई आफ्नो सफलताको कसिको रूपमा व्याख्या गरे पनि मर्ज पछि बैकको स्थितिको यथार्थतालाई नजरअन्दाज गरेर बस्नु र आन्तरिक मामलालाई गम्भीर रूपमा नलिनुले मर्जरमा प्रणालीगत दोष रहने अवस्था समेत विद्यमान छ भन्ने पुष्टि हुन्छ । नियामक निकायले आफूले दिएको सुविधा लिएर बैंक मर्ज भएकोलाई सही अर्थमा सफल बनाउन समेत अभीभावकीय भूमिका निर्वाह गर्नु उत्तिकै महत्त्वपूर्ण छ । त्यसैले मर्ज सफल बनाउन सम्पूर्ण सरोकारवाला एक भएर उभिन सकुन्, शुभकामना । नत्र बैंकहरुका मर्ज केही व्यक्तिका लागि काकाको घोडी मेरी ही ही भन्दा फरक हुँदैन ।
(लेखक बैंकिङ् क्षेत्रमा चासो राख्ने व्यक्ति हुनुहुन्छ)