काठमाडौँ । नेपाल वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानबाट सम्मानित गरिएको छ । भारतमा ट्राभल टुरिजम क्षेत्रमा लामो समय देखि टुरिजम ब्राण्डिङ्ग तथा प्रचार प्रसार गर्दे आएको मुसाफिर मिडिया हबले भारतमा उडान भर्ने एयरलाइन्सहरूमध्ये सन् २०२३ को लागि नेपाल वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानको लागि छनोट गरेको हो ।

१६ नोभेम्बर, २०२३ मा दिल्लीमा आयोजित एक कार्यक्रममा उक्त सम्मान घोषणा गरिएको थियो । यस सम्बन्धमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सम्मान प्राप्त हुँदा खुसी लागेको र अझै जिम्मेवारीपूर्वक काम गर्न प्रेरणा मिलेको कुरा व्यक्त गरे ।

निगमले हाल अन्तर्राष्ट्रियतर्फ चार वटा जहाजबाट दिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, दमाम, बैंकक, हङ्गकङ्ग, मलेसिया, जापान लगायत दश गन्तव्यमा उडान भरिरहेको छ ।

त्यसै गरी आन्तरिक तर्फ दुई वटा ट्विनअटर जहाजबाट ताप्लेजुङ, इलाम, भोजपुर, फाप्लु, थाम खर्क, खानीडाँडा, रुकुम, नेपालगन्ज, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा ताल्चा, दाङ, रेसुङ्गा लगायत १५ गन्तव्यमा उडान भरिरहेको छ ।

निगमको सेवा तथा गुणस्तर अन्तर्राष्ट्रिय स्तरको भएको र यसको वृद्धिमा लगातार प्रयास भइरहेको कुरा यस्ता अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त हुनुले पुष्टि गरेको निगमका प्रवक्ता रमेश पौडेल बताउँछन् ।