काठमाडौं । हिमालयन रिइन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मंसिर ४ गते(आज) सोमबारदेखि प्रिमियम मूल्यमा आइपीओ खुला गरेको छ ।
कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३०% ले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसअनुसार कम्पनीले यसको १०% अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरेको हो ।
कम्पनीलाई १०० रुपैयाँ फेस भ्यालुमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँको दरले ३ करोड कित्ता प्राथमिक शेयर निष्काशनका लागि अनुमति दिइएको हो ।
कम्पनीले प्राथमिक बजारबाट ६ अर्ब १८ करोड रुपैयाँ संकलन गर्नेछ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।