काठमाडौं । कञ्चनपुरमा गत २० कात्तिकमा सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा महिलाको मृत भेटियो ।
उक्त मृत शरिर जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या भएको अनुसन्धानमा खुल्न आयो । प्रहरीको सक्रियतामा जोशीको हत्यामा संलग्नसहित अन्य पाँच जना मतियारलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश डाँगीका अनुसार महिलाको हत्या गरेर उनीहरुले कान र नाकमा लगाएका सुनका गरगहना चोरी गरेको आरोपमा सोही ठाउँ बस्ने महेश डगौरासहितका ६ जनालाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा डगौरालाई लुटिएका गहना बिक्रि गर्न सहयोग गर्ने डगौराका साथी धनगढी उपमहानगरपालिका-१३ बस्ने लक्ष्मण चौधरी, निरज भट्ट तथा बिल नभएर सुन खरिद गर्ने दिया सुनचाँदी पसलका खगेन्द्र बहादुर सोव, बर्दादेवी ज्वैलर्सका ईन्द्र बराल सुनार र सुजल सुनचाँदी पसलका दिपेन्द्र सिजापती रहेको डीएसपी डाँगीले बताए ।
मृतक जोशीलाई १९ कात्तिकमा घटनाका मुख्य अभियुक्त डगौराले घाँस काट्न एक्लै जंगलतिर गइरहेको देखेपछि लुट्ने उद्देश्यले आफू पनि महिलाकै पछि पछि गएको देखिएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
डगौराले जंगलभित्र पुगेर मृतक महिलासँग घाँस काटिदिन्छु भन्दै हँसिया मागेका थिए । हँसियालाई केही टाढा फाल्दै मृतकको घाँटी थिचेको र हल्ला गर्न थालेपछि नाकमुख च्यापि पुनः घाँटिमा हातले दबाएर मृतककै चुन्नी जस्तो कपडाले घाँटी कसी मारेको बयान प्रहरीलाई डगौराले दिएका छन् ।
जोशीको हत्या गरिसकेपछि मृतकको दुवै कानमा रहेका मुन्द्रा, नाकमा लगाएको फुलि निकालेर धनगढी गएका थिए । धनगढीमा बस्ने साथीहरुको सहयोगमा लुटपाट गरिएको सुन बिक्री गरेर नेपालगञ्ज, मुम्बई हुँदै बैंलोरसम्म गएर ३० कात्तिकमा फेरि धनगढी फर्किएका थिए ।