काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीमा कर बढाएको भन्न नमिल्ने बताएका छन् । उनले अहिले पनि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको तुलनामा विद्युतीय गाडीमा कम कर रहेकोले विद्युतीय गाडीमा सरकारले कर बढाएको भन्न नमिल्ने बताएका हुन् ।
मंगलबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले विद्युतीय गाडीलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।
सरकारले इन्ट्री लेभलका र नेपालमा धेरै आयात भएर प्रयोगमा रहेका ५० देखि १०० किलोवाटसम्मका विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार अन्तःशुल्क बढाएको छ भने सार्वजनिक विद्युतीय सवारीमा पनि कर बढाएको छ ।
हाल यसको व्यापक आलोचना भइरहेको छ भने यसले निजी प्रयोजनका विद्युतीय सवारी करिब २५ प्रतिशत महँगो हुने अवस्था बनेको बताइन्छ । तर अर्थमन्त्री महतले भने यसमा सत्यता नरहेको दाबी गरेका हुन् ।
उनले सरकारले प्रस्तुत गरेको बजेट प्रभावकारी रुपमा कार्यान्वयन हुने पनि बताएका छन् । बजेट कार्यान्वयन गर्न सकिन्छ, प्रभावकारी कार्यान्वयन गर्न सक्ने हैसियतले अनुमानित बजेट राखिएको हो, पोलिसिगत प्वाल र भन्सार प्वाल टालिन्छ, मौद्रिक नीति र बित्तियको संयोजनमा बजेट कार्यान्वयन हुन्छ,’ उनले भने ।