काठमाडौँ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को पछिल्लो चार महिनाको अवधिमा ३४ सय बढी विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका छन् ।

चार महिनाको अवधिमा (साउन, भदौ, असोज र कात्तिक) आठ अर्ब ३७ करोड नौ लाख ५२ हजार रुपैयाँ बराबरका तीन हजार ४८७ ईभी नेपाल भित्र्याइएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

चार महिनामा ५० किलोवाट क्षमतासम्मका एक हजार ५० र ५१ देखि १०० किलोवाट क्षमताका दुई हजार ११५ ईभी नेपाल भित्र्याइएको छ। यसबाट सरकारले पाँच अर्ब १९ करोड २० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

त्यस्तै विभागको तथ्यांक अनुसार १०० देखि २०० किलोवाट क्षमताका ३१६ र त्यसभन्दा माथिका ६ बिजुली गाडी चार महिनाको समयमा नेपाल भित्र्याइएको  छ । गत आर्थिक वर्ष २०८०/०८१ को चार महिनामा ६ अर्ब ८३ करोड २७ लाख ५० हजार रुपैयाँ बराबर मूल्यको दुई हजार ७८७ ईभी नेपाल भित्र्याइएको थियो ।