भारतले नेपाललाई उपहारमा दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा आइपुगेको छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रवार राति ती राँगा ल्याइएको हो ।

कृषि तथा पशुपक्षीका क्षेत्रमा दुई देशबीचको सहकार्यअनुरुप भारतले दिएकामध्ये सात राँगा पोखरा ल्याइएको राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख डा. जगदीश पाण्डेले जानकारी दिए । उनका अनुसार पोखरा ल्याइएका राँगालाई २१ दिन क्वारेन्टिनमा राखिने र त्यसपछि मात्र बिर्य उत्पादन सिकाइ शुरू हुनेछ ।

एउटा राँगाबाट वार्षिक १५ देखि २० हजार डोज बिर्य उत्पादन हुने अनुमान गरिएको पशु प्रजनन कार्यालयले जनाएको छ । भैँसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट राँगा ल्याइएकाले यहाँका कृषक लाभान्वित हुने कार्यालय प्रमुख डा. पाण्डेले बताए ।

भारतले दिएका मुर्रा राँगा नेपालगञ्जस्थित रुपेडिया नाका हुँदै स्वदेश ल्याइएको हो । उच्च नश्लका मुर्रा भैँसीले रैथाने भैँसीभन्दा दोब्बर परिमाणमा दूध दिन्छन् । सरकारले यहाँका रैथाने भैँसीमा नश्ल सुधार गर्न भारतबाट मुर्रा राँगा ल्याएको हो ।