काठमाडौं ।  जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ आजदेखि सुरु हुँदै छ।

संयुक्त अरब इमिरेट्स ९युएई० को दुबईमा हुन लागेको यो सम्मेलन यही मङ्सिर २६ गतेसम्म चल्नेछ। मानव इतिहासमा सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड गरिएको र जलवायु सङ्कटको प्रभावले विश्वभरि मानव जीवन र जीविकोपार्जनमा अभूतपूर्व विनाश ल्याएको समयमा यो सम्मेलन आयोजना भएको छ ।

यो सम्मेलन जलवायु सम्मेलन जलवायु प्रतिबद्धतामा कार्य गर्न र जलवायु परिवर्तनको नराम्रो प्रभावलाई रोक्नका लागि एक निर्णायक क्षण हुने विज्ञहरूको भनाई छ। कोप–२८ को अध्यक्षता युएईले गरेको छ। यस वर्षको अध्यक्षमा डा.सुल्तान अल जाबेर रहेका छन्।

सम्मेलनको उद्घाटन केही बेरमा भव्य समारोहबिच हुँदै छ। सम्मेलनका लागि १ सय ६० भन्दा बढी मुलुकका नेता दुबईमा सहभागी भएका छन् । सम्मेलनले तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने र सन् २०५० सम्ममा हरित ग्यास खुद शून्य उत्सर्जन हासिल गर्ने उपायमा सहमति गरेर जलवायु सङ्कटलाई सम्बोधन गर्ने लक्ष्य छ।

सम्मेलनमा विश्वभरका मुलुकका प्रतिनिधि, व्यापारिक नेता, युवा, जलवायु वैज्ञानिक, आदिवासी जनजाति, पत्रकार, विभिन्न विज्ञ, सरोकारवालासहित ७० हजारभन्दा बढीको उपस्थितिको अपेक्षा गरिएको छ।

यस सम्मेलनले कार्बन उत्सर्जन घटाउने दायित्वबारे छलफल, जलवायु अनुकूलन र राष्ट्रिय अनुकूलन योजनाबारे छलफल, पेरिस सम्झौताको कार्यान्वयन अवस्थाबारे समीक्षा, जलवायुजन्य हानि र नोक्सानी साथै कोष कार्यान्वयन, जलवायु वित्तसम्बन्धी छलफल, प्रविधि विकास, विस्तार र कार्यान्वयनलगायत विषयमा छलफल अगाडि बढाउने योजना प्रस्तुत गरेको छ।

यसै गरी महासन्धिअन्तर्गत रहेको क्षमता विकास, अल्पविकसित राष्ट्रहरूसँग सम्बन्धित विषय, जलवायु परिवर्तन र लैङ्गिक सम्बन्धमा, पेरिस सम्झौताको दफा ६ र कार्बन व्यापार, कार्यान्वयनका प्रावधानको प्रभाव, प्रशासनिक, वित्तीय र संस्थागत विषय, जलवायु परिवर्तन र पर्वतीय सवाललगायत विषयमा छलफल अगाडि बढाइने युएनएफसिसिसीको सचिवालयले जनाएको छ।