काठमाडौँ । सेयर बजार सुस्त रहनेक्रम आज(मङ्गलवार) पनि जारी रह्यो । आज नेप्से सूचक १०.१० विन्दुले घटेर १८३७.७१ अंकमा आएर अडिएको छ ।

१ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको देखिन्छ । जीवन बिमाबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । कारोबार रकम बिस्तारै वृद्धि हुँदै गए पनि सूचक घट्नेक्रम भने निरन्तर बढेको छ ।

मङ्गलवार पनि नेप्से सूचक कारोबार अवधिभर पटक पटक हरियो र रातो भन्ने प्रवृत्ति चलिरह्यो । बजारले निश्चित गन्तव्य तय गर्न नसकेको कारोबार प्रवृत्ति हेर्दा सहजै अनुमान गर्न सकिन्छ। अर्थतन्त्रका सूचकहरू सबल बन्दै गएको अनि ब्याजदर घट्न थालेको अवस्थामा बजार सुधार हुने धेरैले अपेक्षा गरिरहेका  छन् । तर यसको विपरीत नेप्से सूचक भने माथि जान सकेको छैन ।

यसरी निरन्तर नेप्से घट्नुमा लगानीकर्ताको मनोविज्ञान कमजोर देखिएको मान्न सकिन्छ। यसैले बजारले गति लिन नसकेको हो। यसबाट आम लगानीकर्ता थप अन्योलमा परेका छन् ।

बजार सुधार हुन सकेको छैन भन्ने कौतुहलता आम लगानीकर्तामा बढेको छ । बजार लामो समयदेखि १८ सयकै लाइनमा घुमिरहेको देखिन्छ । १८ सय विन्दुबाट तल झर्न नमानेको सूचक यसलाई पार गरेर १९ सयतिर लम्किने कुनै सुरसार देखिदैन् ।

समग्रमा हृेर्दा बजार लामो समयदेखि १८ सयको लाइनमा आएर साइडवेज बसेको देखिन्छ । यस्तै, लामो समयदेखि घटेको बजारबाट लाभ लिन नसक्नु अनि ठुला लगानीकर्ताहरू अझै ‘पर्ख र हेर’कै अवस्थामा रहँदा बजारले गति लिन नसकेको अनुमान गरिएको छ ।

कतिपय लगानीकर्ता वा शेयर विश्लेषकहरूले भने बैंक तथा वित्तीय संस्थाहरूलाई निशानामा पार्ने गरी चलेको सडक आन्दोलनलगायतका कारण ठुला लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बसेकाले सेयर बजारले गति लिन नसकेको पनि अनुमान लगाएका छन् ।

बजारमा जे जस्ता विश्लेषण भइरहे पनि मुख्य कुरा आम लगानीकर्ताको मनोबल कमजोर देखिएको हो । अहिले खासै नयाँ लगानीकर्ता भित्रिन सकेका छैनन् । पुराना धेरैको थप लगानी गर्न सक्ने हैसियत छैन । पुरानो ऋणको साँवा र ब्याज तिर्दा उनीहरूको थप सेयर क्रय शक्तिमा ह्रास आएको देखिन्छ ।

बजारमा अहिले सेयरको माग पक्ष कमजोर छ । यसलाई सुधार्न सरकार, नियामकलगायत सरोकारवाला निकायको ध्यान गएको पाइँदैन । नयाँ ब्रोकर कम्पनी थपिएका छन् । तर अहिलेसम्म उनीहरूले पनि खासै नयाँ ग्राहक खोज्न सकेको देखिँदैन ।

पुरानै ग्राहक तानातान मात्र भइरहेको अवस्था छ । सबै ब्रोकर कम्पनीहरू सहर केन्द्रित छन् । ग्रामीण क्षेत्रमा जाने तथा नयाँ ग्राहक खोज्ने अनि सेयर चेतना अभिवृद्धि गराउनेतर्फ खासै पहल भएको पनि पाइँदैन । नयाँ ग्राहक खोज्न सके माग पक्ष सबल बनाउन सहयोग पुग्न सक्छ ।

अर्थतन्त्रका सूचकहरू पनि सबल बनिरहेको र बैंकमा तरलता थुप्रिएकाले ब्याजदर घट्न थालेको छ । यसर्थ, आगामी दिनमा नीतिनिर्माताले पनि लचिलो नीतिहरू लिँदै जानुपर्ने बाध्यता रहेको देखिन्छ । यी तथ्यहरूका बाबजुद पनि सेयर बजार सुधारका लागि आर्थिक सूचकहरूमा सुधारसँगै आम लगानीकर्ताको मनोबल पनि सकारात्मक हुँदै जानुपर्ने देखिन्छ ।

बजार बढ्छ, यसबाट लाभ लिन सकिन्छ भन्ने दह्रो आत्मविश्वास लगानीकर्तामा देखिए मात्र बजारले पनि गति समाउन सक्छ । किनभने सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानले महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ ।बजारले लामो समयको बियरिस चक्र पूरा गरिसकेको छ ।