काठमाडौँ । भन्सार विभाग घेराउ गर्न पुगेका आम जनता पार्टी (आजपा) को आम सम्पर्क मञ्च सम्बद्ध नेता कार्यकर्तामाथि प्रहरीले लाठी बर्साएको छ ।
भन्सार विभागको मूल गेटसम्म पुग्न समेत नदिई प्रहरीले अवरोध गरेपछि दुई पक्षीय बिच झडपको अवस्था बनेको हो । सो क्रममा सुरुमा प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल भएको थियो भने अवस्थाले चर्को रूप लिएसँगै प्रहरीले लाठीचार्ज गरेको हो ।
आजपा आम सम्पर्क मञ्चको भन्सार कानुन सुधार संघर्ष समितिकी संयोजक रञ्जु कुमारी साहले प्रहरीले लाठीचार्ज गर्दा दुई जना सामान्य घाइते भएको जानकारी गराएकी छिन । घाइतेहरूको हात र खुट्टामा सामान्य चोट लागेको छ ।
आजपाको झन्डासहित प्रदर्शनमा पुगेका उनीहरूले हरूले प्रहरीको दमन भएको भन्दै चर्को नाराबाजी गरेका थिए । भन्सार कानुनमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था गलत रहेकाले त्यसको खारेजीका लागि आफूहरूले आन्दोलन गर्दै आएको प्रदर्शनकारीको भनाई छ ।
यो व्यवस्थाको विरोधमा गत चार महिनाअघिदेखि नै आजपाले चरणबद्ध आन्दोलन गर्दै आएपनि मागबारे सुनुवाइ हुन नसकेको उनीहरुको भनाई छ । यसैबिच आजपा र आम सम्पर्क मञ्चले सरकारले तुरुन्त सकारात्मक कदम नचाले अब भन्सार विभागमा ताल्चा लगाउने घोषणा गरेको छ।