काठमाडौं । एयिशन लाइफले गत आव २०७९/८० को वित्तिय विवरणमा आधारित नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७९/२०८० को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणको पुस १२ गतेको पत्र मार्फत स्वीकृत भई बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीका अनुसार सावधिक तथा आजिवन बीमालेखमा न्यूनतम् ६१ रुपैयाँदेखि बीमा पोलिसीका अवधीका आधारमा क्रमशः बृद्धि भई अधिकतम् ७५ रुपैयाँ प्रति वर्ष प्रति हजार रुपैयाँका दरले बोनस पाइनेछ ।

त्यस्तै, सावधिक जीवन बीमालेखमा न्यूनतम् ४५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म प्रतिवर्ष प्रतिहजार रुपैयाँका दरल बीमितहरुले बोनस पाउनेछन् ।

बालबालिका सावधिक जीवन बीमालेखमा अवधी अनुसार न्यूनतम ४४ रुपैयाँदेखि ६० रुपैयाँ बोनस पाइनेछ । त्यस्तै, सामूहिक, सावधिक, नवरत्न, जीवन संगिनी, दम्पत्ति सुरक्षा, बाल उच्च शिक्षा बीमा पोलिसीहरुमा न्यूनतम ४२ रुपैयाँदेखि बीमा पोलिसीको अवधी अनुसार ५० रुपैयाँसम्म बोनसदर निर्धारण भएको छ ।

त्यस्तै, अग्रिम भुक्तानी, एकल बीमालेखमा ५० रुपैयाँ र ७० रुपैयाँ प्रतिबर्ष प्रतिहजार रुपैयाँका दरले बोनसदर निर्धारण गरिएको छ ।

बोनसदर बीमा पोलिसी लिने बीमितहरुका लागि निकै महत्वपूर्ण हुन्छ । बीमितले बीमा पोलिसीको अवधी समाप्त भएपछि बीमाङ्क रकममा बोनसदर गणना गर्दा यही दररेट अनुसार गणना गरिएको हुन्छ ।